जनता टाइम्स

३० चैत्र २०८०, शुक्रबार १५:४६

एमालेले बोलायो सचिवालय बैठक, यस्ता छन तीन एजण्डा


काठमाडौं, चैत ३० । नेकपा एमालेले तीन वटा खास एजेण्डामा छलफल गर्न केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा वैशाख २ गते बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, वैशाख १५ गते इलाम २ र बझाङको प्रदेश सभामा हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बैशाख ८ र ९ गते गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्दैछ । बैठकमा महाधिवेशनमा सहभागी २ हजार १ सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् । परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने गर्छ ।

यसैगरी वैशाख १० गते नेकपाको स्थापना दिवसको अवसरमा एमालेले विशेष कार्यक्रम पनि गर्दैछ । सो बिषयमा पनि बैठकमा छलफल हुनेछ ।