जनता टाइम्स

१ बैशाख २०८१, शनिबार ०५:३४

नयाँ बर्षसँगै हट्यो माइतीघर-बानेश्वर क्षेत्रको निषेधाज्ञा


काठमाडौं, बैशाख १ । सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म लगाएको निषेधाज्ञा हटाएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै निषेधाज्ञा हटाएको जानकारी दिनुभएको हो ।

उहाँले सूचनामा यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा–६ को उपदफा (३) (क) बमोजिम दुई महिनादेखि लगाइएको निषेधाज्ञा शनिबारदेखि हटाएको जानकारी दिनुभएको छ ।
काठमाडौंमा प्रशासनले गएको दुई महिनादेखि माइतीघर–बानेश्वर क्षेत्रमा निषेधाज्ञाको आदेश गरेको थियो ।

निषेधाज्ञा हटाइएपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सरकारको सम्मान रहेको तर तोडफोड भए क्षतीपुर्ति भराउने निर्णय लिइएको प्रष्ट पार्नुभएको छ ।

’यो लोकतन्त्रको सौन्दर्य हो । तर, आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन। त्यसैले आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाईका लागि आयोजक (व्यक्ति, संस्था वा दल)लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ,’ लामिछानेले सामाजिक सञ्जालबाट भन्नुभएको छ ।

उहाँले अधिकारको लागि अर्काको अधिकार हनन स्वीकार्य नहुने प्रष्ट पार्नुभएको हो । ’मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ । बिल चाँडै पठाइने छ,’ गृहमन्त्री लामिछानेले भन्नुभएको छ ।