जनता टाइम्स

२ बैशाख २०८१, आईतवार १५:३३

सत्ता गठबन्धनलाई माधवको धोका, कांग्रेसतिर लाग्यो नेकपा एस


धनगढी, बैशाख २ । संघीय सरकारमा सत्ता गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादी सुदुरपश्चिममा भने कांग्रेस नेतृत्वको गठबन्धनतिर लागेको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनलाई धोका दिएर कांग्रेसतिर लाग्न भनेसँगै सो पार्टीका सुदुरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले कांग्रेस नेतृत्वको गठबन्धनतिर लाग्नुभएको छ ।

सोडारीले नागरिक उन्मुक्ति पार्टीका कार्वाही परेका सांसदलाई मुख्यमन्त्री दावी गर्ने प्रस्तावमा हस्ताक्षर गरी कांग्रेस गठबन्धनमा लाग्नुभएको हो । सोडारीको समर्थनसँगै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गर्नुभएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।

चौधरीले आज दिउँसो प्रदेश प्रमुख नजीर मियाँलाई कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६ र एकीकृत समाजवादीका ४ जनाको समर्थन रहेको दाबीसहित मुख्यमन्त्री नियुक्त गर्न पत्र दिनुभएको छ । ५३ सदस्यीय प्रदेशसभामा बझाङबाट निर्वाचित पृथ्वी सिंहको निधन भएको छ भने नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । त्यसैले प्रदेशसभामा बहुमत सिद्ध गर्न २६ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश प्रमुख मियाले भने नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको जानकारीसहितको पत्र प्रदेशसभाबाट प्राप्त भएकाले आफूले कानुनी परामर्शपछि मात्र निर्णय लिने जवाफ दिनुभएको छ ।