काठमाडौं, बैशाख २ । वान एक्स बेटमार्फत सट्टाबाजी खेलाउने समुहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्ट्टावाजीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
बिशेष सूचनाको आधारमा तीन जनालाई पक्राउ गरेको सो कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी छन ।
उनीहरूले विभिन्न खेलहरूमा वान एक्स बेटमार्फत सट्टाबाजी गराउने गरेका थिए । उनीहरूलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आइपिएसका खाता खोलेका थिए । जसमा ९८ वटा बैंक खाताहरू जोडिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती खाताबाट ५७ करोड ४१ लाख ५७ हजार १४७ रुपैयाँ बराबरको कारोबार भएको तथ्य भेटिएको छ । उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
पक्राउ परेका अभियुक्तहरुलाई थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्