जनता टाइम्स

३ बैशाख २०८१, सोमबार १०:५६

एमाले हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित, पदाधिकारी पनि सवै बुमी प्यानलकै बिजयी


हुम्ला, बैशाख ३ । नेकपा एमाले हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनामा ५ मतले बुमी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अधिवेशनमा भएको निर्वाचनमा नेताहरू प्यानल बनाएर चुनाव लडेका थिए । जसमा बुमी पदाधिकारीसहित बुमीको प्यानल निर्वाचित भएको हो । बुमीले प्रतिस्पर्धी डबल राउत भन्दा पाँच मत बढी प्राप्त गरी निर्वाचित हुनुभएको हो । सार्वजनिक भएको मतपरिणाम अनुसार बुमी १ सय २४ मत प्राप्त अध्यक्ष पदमा निर्वाचित हुँदा रावतले १ सय १९ मत प्राप्त गर्नु भएको छ ।

उपाध्यक्षमा प्रकाशबहादुर शाही निर्वाचित हुनुभएको छ । शाहीले १ सय ६२ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी उब्जन मल्लले ८० मत पाउनुभएको छ । यसैगरी सचिवमा तीर्थराज बोहरा १ सय ३९ मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँका प्रतिस्पर्धी गोकुल बुढाले १ सय ३ मत प्राप्त गर्नुभएको छ ।

खुल्ला उपसचिवमा प्रदीप लामा १ सय ३३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । अर्का प्रतिस्पर्धी बुध भण्डारी १ सय १ मत ल्याउनु भएको छ । महिला उपसचिवमा मञ्जु रावलले १ सय ३४ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी विमलाकुमारी शाहीले ९५ मत पाउनुभएको छ ।

जिल्ला अधिवेशनको नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज गोरखाबहादुर बोगटीले उदघाटन गर्नुभएको थियो ।