जनता टाइम्स

३ बैशाख २०८१, सोमबार १३:३३

नेकपा एसले अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको केपी ओलीको निश्कर्ष


काठमाडौं, बैशाख ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी अराजनीतिक समुहमा परिणत भएको भन्दै कडा आलोचना गर्नुभएको छ ।

आज बसेको एमाले संसदीइ दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा एकीकृत समाजवादीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई साथ दिएर अराजनीतिक काम गरेको अध्यक्ष ओलीको भनाई छ ।

‘यो अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र हो । यो अराजनीतिक चरित्रको प्रदर्शन पनि हो,’ अध्यक्ष ओलीले भन्नुभयो । आफूहरुसँग हुँदा मुख्यमन्त्री दिन नसक्ने बताएको एकीकृत समाजवादीले कांग्रेसलाई जिताउने र समीकरण कमजोर बनाउन भने नागरिक उन्मुक्तिलाई नै पहिलो कार्यकाल दिन तयार भएको अध्यक्ष ओलीले बताउनु भयो ।

अध्यक्ष ओलीले एकीकृत समाजवादीको यो निर्णय अराजनीतिक भएको तथ्य औल्याउँदै भन्नुभयो, ‘विपक्षीहरुको आशा पलाउने गरी र जनतामा केही मात्रामा भएपनि निराशा पलाउने गरी त्यस पार्टीले कदम चाल्यो ।’

आन्तरिक रुपमा एकीकृत समाजवादीको बोली र व्यवहार बार्गेनिङ गर्ने खालकै भएको र सुदूरपश्चिममा बाहिरै प्रकट भएको उहाँको भनाई छ । ‘धेरै नभनौं तर दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नाङ्गो ढंगले प्रकट भयो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘तर यसले फरक पार्नेवाला चाँहि छैन ।’

उहाँले कम्युनिस्ट साइनबोर्ड राखेर काम चाहिँ कांग्रेसको पक्षमा हाकाहाकी गरेको पनि बताउनु भयो ।