जनता टाइम्स

४ बैशाख २०८१, मंगलवार १०:४२

डीआईजी जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस


काठमाडौं, बैशाख ४ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल र उमेशराज जोशी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस हुनुभएको छ ।

गृहसचिव अध्यक्ष रहनुभएको बढुवा समितिको सोमबार बसेको बैठकले एआईजी पदमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत जोशी र प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ढकाललाई बढुवा गर्न सिफारिस गरिएको हो ।

एआइजी बढुवा समितिमा गृहसचिव एकनारायण अर्याल अध्यक्ष, प्रहरी महानिरीक्षक (आइजीपी) बशन्तबहादुर कुँवर सदस्य सचिव र एआइजी टेकप्रसाद राई सदस्य रहनुभएको छ । आइजीपी कुँवरका अनुसार नेपाल प्रहरीमा उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने दुई पदमा ढकाल र जोशीलाई बढुवाका लागि सिफारिस गरिएको हो।

‘प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद – ११ नियम १२७ (१) को देहाय (क) (२) बमोजिम नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या २ (दुई) मा बढुवा गर्न मिति २०८१।०१।०३ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,’ बढुवा समिति सदस्य–सचिव कुँवरले जारी गरेको सूचनामा भनिएको छ ।

आइजीपी कुँवरका अनुसार जोशी ७३.८३६८ प्राप्तांकसहित पहिलो नम्बरमा र ढकाल ७३.६३०६ प्राप्तांक सहित दोस्रो नम्बरमा बढुवा सिफारिसमा परेका छन्। उमेरहदका कारण वैशाखको पहिलो हप्तामा एआईजी सन्दीप भण्डारी र एआईजी मिरा चौधरी थारु अवकाश हुन लाग्नुभएको छ ।