जनता टाइम्स

४ बैशाख २०८१, मंगलवार १३:५७

ब्यूटीपार्लर र स्पाको आवरणमा यौनको ब्यापार, यसरी खुल्यो यी सुन्दरीका कालाकर्तुत


काठमाडौं, बैशाख ४ । संघीय राजधानी काठमाडौंमै लामो समयदेखि ब्यूटिपार्लर र स्पाको आवरणमा यौन ब्यवसाय सञ्चालन भइरहेको तथ्य खुलेको छ । नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोलेबिशेष सुचनाको आधारमा ब्यूटीपार्लर र स्पा तथा होटल सञ्चालकलाई पक्राउ गरेपछि सो आवरणमा यौनको ब्यापार हुने गरेको तथ्य बाहिर आएको हो ।

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा, झापा गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–७ चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पाकी सञ्चालक ३४ वर्षीया पुजा लोवा र चितवनको वीरेन्द्रनगर घर भई हाल काठमाडौं महानगरपालिका–७ गंगाहिटी बस्ने ४३ वर्षीया पुजा मगर भन्ने ओम कुमारी पुन रहेका छन ।

नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्ट तथा काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा नाबालिकालाई ललाई फकाई प्रलोभनमा पारेर यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पुजा लोवालाई काठमाडौं चावहिल तथा ओम कुमारी पुनलाई काठमाडौं ज्ञानेश्वरबाट पक्राउ गरेको हो । साथै पीडित बालिकालाई उद्दार गरी हाल सुरक्षित आवासमा राखिएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा नाबालिकालाई वेटरको काममा लगाईदिने भनी ओम कुमारीले नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्टमा पठाउने र रेष्टुरेन्ट सञ्चालकले ललाई फकाई तथा धाकधम्की दिई वेश्यावृत्तिमा लगाउने गरेको र तत्पश्चात निज नाबालिकालाई काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा लैजाने गरेको पाइएको छ ।

सो स्पामा सञ्चालक पुजा लोवाले नाबालिकालाई विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । हरीका अनुसार ओम कुमारीले निज नाबालिकालाई रातीको समयमा ग्राहकहरूको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसहरूमा पठाओ प्रयोग गरी पठाएर वेश्यावृत्तिमा समेत लगाउने गरेको तथ्य खुल्न आएको ब्यूरोले जनाएको छ ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।