जनता टाइम्स

४ बैशाख २०८१, मंगलवार १७:०१

झलनाथको मुभसँगै सच्चिन बाध्य भए माधव, नेकपा एसले फिर्ता लियो सुदुरपश्चिममा कांग्रेस गठबन्धनलाई दिएको समर्थन


काठमाडौं, बैशाख ४ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल मुभ भएपछि अध्यक्ष माधवकुमार नेपाल आफ्नो आत्मघाती कदम सच्याउने बाध्य हुनुपरेको छ ।

नेकपा एमाले र नेकपा एकीकृत नेकपा माओवादी केन्द्रको गठबन्धन छाडेर नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जाने माधवको कदमप्रति सम्मानित नेता झलनाथ खनालले कडा आपत्ति जनाएर अडान लिएपछि माधव आफ्नो निर्णयबाट पछि हटनु भएको हो ।

माधवले सोमवार सुदुरपश्चिम प्रदेशमा कांग्रेस गठबन्धनतिर लागेर आफ्ना सांसदलाई हस्ताक्षर गर्न निर्देशन दिनुभएको थियो । माधवको सो कदम आत्मघाती भन्दै खनाल खुलेरै मैदानमा उत्रुभएको थियो । खनालले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर आफ्नो दल गठबन्धनमै रहेको भन्दै माधवलाई ठेगानमा ल्याउने बताउनु भएको थियो ।

प्रधानमन्त्री दाहालसँग बार्ता गरेर खनाल बाहिरिएको केही समयपछि सो पार्टीले सुदुरपश्चिममा कांग्रेस नेतृत्वको गठबन्धनमा जाने अडान छाडेर सत्ता गठबन्धनमै अडिएको छ । केन्द्रमा यो निर्णयसँगै सो पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सहमति गरी चौधरीलाई दिएको समर्थन फिर्ता लिनुभएको हो । एमाले र माओवादीले नाउपाकै कैलाश चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेपछि एकीकृत समाजवादीले अर्को पक्षलाई समर्थन गरेको थियो ।

समर्थन फिर्ता लिएको जानकारी दिँदै सोडारीले प्रदेश प्रमुखलाई पत्र बुझाउनु भएको छ । सोडारीको सो पत्रसँगै सुदुरपश्चिमबाट गठबन्धनमा फुट ल्याउने कांग्रेस सभापति शेरबहादुर देउवाको सपना चकनाचुर भएको छ भने सत्ता गठबन्धनबाट बाहिरिन चाहनुभएका माधवलाई झलनाथले नत्थी लगाएर खिच्नुभएको छ ।