जनता टाइम्स

५ बैशाख २०८१, बुधबार ०७:२८

काठमाडौं महानगरको सह्रानीय काम, आजदेखि सवै वडामा क्यान्सरको निःशुल्क परीक्षण


काठमाडौं, बैशाख ५ । काठमाडौं महानगरपालिकाले आफ्ना सवै वडाहरुमा क्यान्सरको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ ।

महानगरपालिकाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सुरु गरेको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका अनुसार शिविर वैशाख महिना भरी सञ्चालन हुने छ ।

कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरुको स्वास्थ्य जाँच भएको थियो । आजदेखि वडास्तरीय परीक्षण शिविर सुरु हुनेछ । यस क्रममा वडा नं. ३१ भीमसेनगोलामा बुधबार र विहीबार गरी २ दिन शिविर चल्नेछ । यस्तै ७ गते शुक्रबार, ९ गते आइतबार र १० गते सोमबार इनबहालमा वडा नं. २५ र २७ को संयुक्त शिविर आयोजना हुनेछ ।

महानगरपालिकाका अनुसार ११ गते मंगलबार र १२ गते बुधबार वडा नं. ३ महाराजगञ्जमा हुनेछ । १४ गते शुक्रबार वडा नं. २६ लैनचौरमा, १६ गते आइतबार वडा नं. २० भीमसेनस्थानमा, १७ गते सोमबार, वडा नं. २१ यंगालमा, १८ गते मंगलबार वडा नं. २३ ओमवहालमा शिविर हुनेछ ।

यसैगरी वैशाख २० गते बिहीबार र २१ गते शुक्रबार वडा नं. १५ मा, २४ गते सोमबार वडा नं. २ लाजिम्पाटमा, २५ गते मंगलबार वडा नं. २४ मखनमा, २६ गते बुधबार वडा नं. २२ टेवहालमा, २७ गते बिहीबार वडा नं. १८ नरदेवीमा, २८ गते शुक्रबार वडा नं. १९ कंकेश्वरीमा, ३० गते आइतबार र ३१ गते सोमबार वडा नं. ३२ पाल्पाकोट (छाप्रे) कोटेश्वरमा शिविर हुने तालिका छ ।

शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने जानकारीसमेत काठमाडौं महानगरपालिकाले दिएको छ ।