जनता टाइम्स

६ बैशाख २०८१, बिहीबार १४:२५

एमाले महाधिवेशन प्रतिनिधि परिषद बैठक : उपत्यका बाहिरका प्रतिनिधिलाई खाना र बासको ब्यवस्था गर्ने बागमती सम्पर्क मञ्चको निर्णय


काठमाडौं, बैशाख ६ । नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीले महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा उपत्यका बाहिरबाट आउने प्रतिनिधिलाई खाना र बस्ने ब्यवस्था गर्ने निर्णय गरेको छ ।

अध्यक्ष सुभाषचन्द्र ठकुरीको अध्यक्षतामा आज बसेको एमाले बागमती सम्पर्क मञ्चको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । एमालेको महाधिवेशन प्रतिनिधि परिषदको बैठक शनिवार अर्थात बैशाख ८ र ९ गते गोदावरीको सनराइज हलमा हुँदैछ भने बैशाख १० गते पार्टी स्थापनाको ७५औं बर्ष पूरा भएको अवसरमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ ।

सो कार्यक्रमका लागि उपात्यका बाहिरबाट आउनेलाई खाना र बस्ने समस्या भएमा ब्यवस्था गर्ने निर्णयसहित सम्पर्क गर्न मञ्चले अनुरोध गरेको छ । बागमति प्रदेश अन्तर्गतका जिल्ला सम्पर्क मञ्चका अध्यक्षसहित बैठक सबेर यस्तो निर्णय गरेको उपाध्यक्ष सरोजमोहन लामाले जानकारी दिनुभयो ।

‘महाधिवेशन प्रतिनिधि परिषद बैठकमा काठमाडौं बाहिरबाट पाल्नुहुने सदस्यहरुलाई ८, ९ र १० गते बेलुका बस्न र खानाको समस्या छ भने बागमती प्रदेश सम्पर्क कमिटी र अन्तर्गतका जिल्ला सम्पर्क मञ्चहरु मिलेर ब्यवस्था गर्ने निर्णय गरेका छौं । आ–आफ्नो जिल्लाबाट पाल्नुहुने प्रतिनिधि परिषद सदस्यहरुलाई गाँस र बासको समस्या सम्पर्क गर्न अनुरोध गरेका छौं,’ उपाध्यक्ष लामाले भन्नुभयो ।

बैठकले बैशाख १० गते मनाउन लागिएको पार्टीको स्थापना दिवस (हिरक बर्ष) भब्य रुपमा सफल पार्न विभिन्न कार्यक्रमहरुसहित व्यापक उपस्थितिको तयारी गर्ने निर्णय पनि गरेको उपाध्यक्ष लामाले जानकारी दिनुभयो ।