जनता टाइम्स

८ बैशाख २०८१, शनिबार १८:०४

प्रमुख दलहरुको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको भीम रावलको आरोप


काठमाडौं, बैशाख ८ । नेकपा एमालेका नेता भीमबहादुर रावलले देशका प्रमुख दलहरुको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको बताउनु भएाके छ ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा रावलले संविधानको कार्यान्वयनका लागि आवश्यक कानून नै बनाउन नसकेको र दलहरुको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको बताउनु भएको हो ।

उहाँले कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दा पनि नेपालको संविधानमा उल्लेखित समाजवादउन्मुख प्रणालीको रुपरेखासमेत ल्याउन नसकेको बताउनु भयो ।

‘संविधानमा राष्ट्रिय स्वतन्त्रताको व्याख्या गरे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन कानूनसमेत बनाउन सकिएको छैन’, नेता रावलले भन्नुभयो, ‘अहिले कम्युनिष्ट पार्टीको नेतृत्व गर्नेले कम्युनिष्ट विरोधीहरुसँग साँठगाँठ गर्दैन भनेर परिकल्पना गर्ने स्थिति नै बनेन ।’

देश र जनताको गम्भीर समस्याका बारेमा परामर्श नगर्ने तर प्रतिक्रियावादी भनिएकाहरुसँग राज्यबाट लाभ र सुविधा भागबन्डा गर्न सक्रिय रहेर अवसरवादी क्रियाकलाप देखिएको रावलको भनाई छ ।