जनता टाइम्स

१० बैशाख २०८१, सोमबार ०७:४८

गोरखामा शल्यक्रिया गरेर निकालियो पुरुषको मलद्वारमा एक महिनादेखि अड्किएको बोत्तल


गोरखा, बैशाख १० । गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय एक पुरुषको मलद्वारमा अड्किएको बोत्तल एक महिनापछि निकालिएको छ ।

आइतबार गोरखा अस्पतालमा शल्यक्रिया गरेर ती पुरुषको मलद्वारबाट बोत्तल निकालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिद्धार्थ खनालले जानकारी दिनुभयो ।

‘उहाँको मलद्वारमा एक महिना अघिदेखि किटनाशक औषधीको मेटलको बोत्तल अड्किएको रहेछ’, निमित्त मेडिकल सुपरिटेन्डेन्ट खनालले भन्नुभयोे, ‘अलि सिरियस भएपछि आज अस्पताल ल्याइएको रहेछ । करिब ३ घण्टाको अप्रेशन पश्चात हामी बोत्तल निकाल्न सफल भयौं ।’

ती पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लामो र ७.५ सेन्टिमिटर चौडाइको बोत्तल निकालिएको डा खनालले जानकारी दिनुभयो । ‘बोत्तल अड्किएको लामो समय भएकाले पेटमा संक्रमण पनि फैलिसकेको रहेछ, हामीले त्यो पनि सफा गरिदियौं’, खनालले भन्नुभयो ।

उहाँले बोत्तल कसरी मलद्वारभित्र अड्कियो भन्ने विषयमा आफूहरुले जानकारी लिइरहेको बताउनुभ भयो । सर्जन डा. जीतेन्द्र सिंह र विश्वराज खड्का र एनेस्थेसिया डा. शम्भु अधिकारीको टिमले ती बिरामीको सफल शल्यक्रिया गर्नुभएको हो । बिरामीको हाल आइसियु कक्षमा राखेर उपचार भइरहेको छ ।