जनता टाइम्स

१० बैशाख २०८१, सोमबार १४:३७

बोल्दाबेल्दै भक्कानिइन पूर्वराष्ट्रपति भण्डारी


गोदावरी (ललितपुर) बैशाख १० । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जननेता मदनकुमार भण्डारीलाई सम्झेर भक्कानिनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको हिरक महोत्सवको अवसरमा नेकपा एमालेले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वराष्ट्रपति भण्डारी एकाएक भक्कानिनु भएको हो ।नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीको निधनपछि आफ्नो राजनीतिक यात्राले नयाँ मोड लिएको बताउने क्रममा पूर्वराष्ट्रपति भण्डारीमा ३१ बर्ष पुरानो घाउ बल्झिएको हो ।

सम्बोधनको क्रममा भक्कानिदै उहाँले भन्नुभयो, ’नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० साल जेठ ३ गते जीप दुर्घटनामा परी निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो । नेकपा एमालेको प्रेरणा, प्रोत्साहन एवं कार्यकर्ता सदस्य तथा जनताको चाहना बमोजिम मदनका अधुरा सपना साकार पार्ने अभियानमा म थप जिम्मेवारीका साथ राजनीतिक सक्रिय रुपमा लाग्ने परिवेश निर्माण भएको हो ।’

मदन उहाँका श्रीमान हुनुहुन्छ । उहाँको रहष्यमय दुर्घटनापछि नै भण्डारी राजनीतिमा सक्रिय हुनुभएको थियो । आज उहाँले सोही बिषय स्मरण गर्दा निकै भावुक बन्नुभयो । उहाँले मदनले विकास गरेको जनताको बहुदलीय जनवादलाई थप कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । संविधानले मार्ग निर्देशन गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सबै एकजुट भएर काम गर्नुपर्ने धारणासमेत उहाँको छ ।

नेकपा एमालेकी तात्कालिन उपाध्यक्ष एवं पूर्वराष्ट्रपति भण्डारीलाई नेकपा एमालेले गणतन्त्र राष्ट्रिय गौरवको पदकबाट सम्मानित गरेको छ । पूर्वराष्ट्रपति भण्डारीले आफूलाई पार्टीले दिएको सम्मानले थप जिम्मेवारी महसुश भएको बताउनु भयो । उहाँले कम्युनिष्ट आन्दोलनको गहन समीक्षा गर्नुपर्ने बेला आएको पनि बताउनु भयो । नेपाली कम्युनिष्ट आन्दोलनमा पटक पटक देखिने गरेको फुट र विभाजनबारे समीक्षा गर्नुपर्ने उहाँको भनाई छ ।

‘नेपाली कम्युनिष्ट आन्दोलनमा पटक पटक देखिने गरेको फुट र विभाजन सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो ? भन्ने जस्ता विषयमा समीक्षा गरेर ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुन्छ,’ भण्डारीले भन्नुभयो ।