जनता टाइम्स

१२ बैशाख २०८१, बुधबार ००:०७

कर्णालीमा मिल्यो मन्त्रालयको भागबण्डा, यस्तो छ एमाले-माओवादीले पाउने मन्त्रालय


सुर्खेत, बैशाख १२ । कर्णाली प्रदेश सरकारमा सत्तारूढ दलहरूबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ ।  मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता यामलाल कँडेल र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माबीच मंगलवार भएको छलफलबाट मन्त्रालयको भागबण्डा टुंगिएको हो ।

यसअघि दुई दलबीच मन्त्रालयको भागबण्डामा कुरा नमिल्दा मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन । जसले गर्दा चैत २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कँडेलले एक्लै मन्त्रालय सम्हालिरहनु भएको छ । सहमतिसँगै अव मन्त्रिपरिषद बिस्तार हुने मुख्यमन्त्री कँडेलको सचिवालयले जनाएको छ ।

सहमतिअनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएकोे छ ।

यस्तै एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ । कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित आठ वटा मन्त्रालय रहेका छन ।

माओवादीसँग सहमति जुटेसँगै मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने हुनुभएको छ । उहाँले मंगलबार प्रदेश सभामा प्रस्ताव पनि दर्ता गराइसक्नु भएको छ ।