जनता टाइम्स

१२ बैशाख २०८१, बुधबार ११:१५

बझाङ प्रदेश सभा निर्वाचनको यथार्थता : कांग्रेस-एमालेबीच नै प्रतिस्पर्धा, तेस्रोका लागि संघर्ष गर्दै माओवादी र समाजवादी


बझाङ, बैशाख १२ । बेशाख १५ गते हुन गइरहेको उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेश निर्वाचन ‘क’ मा मौन अवधी सुरु हुन केही समय मात्र बाँकी रहँदा हारजितको अड्कलबाजी सुरु भएको छ । नेताहरु चुनाव आफ्नो पक्षमा पार्ने रणनीतिमा व्यस्त भइरहँदा आम नागरिकबीच हारजितको अड्कलबाजी हुन थालेको देखिन्छ ।

चुनाव नजिकिएसँगै घरदैलो, आमसभा तथा अन्य चुनावी प्रचारका खुला कार्यक्रम कमहुदै गएका छन भने आन्तरिक भेटघाट तथा मतदाता प्रभावमा राख्ने रणनीतिसहित दलका नेताहरु सक्रिय देखिएका छन । तत्कालिन प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएपछि बझाङमा यही बैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।

यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी केन्द्रसहित १२ दल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । जनताटाइम्स डटकमको टोलीले अहिलेसम्म गरेको स्थलगत अध्ययनको क्रममा उम्मेदवारी दिएकामध्ये एमालेका दमनबहादुर भण्डारी र कांग्रेसका अभिषेकबहादुर सिंह मुख्य प्रतिस्पर्धी देखिनुभएको छ । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह पनि प्रतिस्पर्धा नै देखिनुभएको छ । तर उहाँहरु बीच पहिलो भएर जित्ने भन्दा पनि तेस्रो को हुने ? भन्नेमा प्रतिस्पर्धा चलेको देखिन्छ । यहाँ माओवादी र समाजवादीले आफ्नो मत सुरक्षित गर्ने रणनीति मात्रै बनाएका देखिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का पनि तीव्र चुनावी प्रचार प्रसारमा देखिनुभएको छ । यस्तै जसपा नेपालबाट रामबहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का पनि उम्मेदवार हुनुहुन्छ ।

अहिलेसम्म हामीले प्राप्त गरेको तथ्यांकले नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्ती मगरलाई चार अङ्क कटाउन पनि सकस हुने देखिएको छ । नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्ट, नेपाली जनता दलबाट अशोक सुनारको अवस्था पनि अन्य साना दलहरू भन्दा फरक देखिँदैन ।

यी मध्ये केहीको धरौटी समेत जफत हुन सक्ने देखिएको छ भने केहीले आफ्नो मत समेत आफ्ना लागि हाल्न नपाउने अवस्थामा उम्मेदवार रहेका छन । बझाङमा अन्य जति दलहरुले उम्मेदवार बनाए पनि एमाले र काँग्रेस नै मुख्य प्रतिस्पर्धी दल रहेका छन । २०४८ सालदेखि नै यी दुई दलबीच चुनावी प्रतिस्पर्धा हुने गरेको छ ।

नेपालमा एमालेबाट उम्मेदवार रहनुभएका दमन भण्डारी बझाङ जिल्ला अध्यक्ष हुनुहुन्छ । उहाँसँग प्रतिस्पर्धामा उत्रिनु भएका कांग्रेसका अभिशेष सिंह कांग्रेसका जिल्ला कार्यसमिति सदस्य हुनुहुन्छ । उहाँ सवारी दुर्घटनामा ज्यान गुमाउनु भएका तत्कालिन प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहका छोरा हुनुहुन्छ । सिंह २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा पराजित हुनुभएको थियो । जयपृथ्वी नगरपालिका– ५ मा स्वतन्त्र उम्मेदवार रहेका प्रेमबहादुर थापासँग सिंह ७० मतले पराजित हुनुभएको थियो ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट विद्रोह गरेर स्वतन्त्र लडनु भएका थापा २७१ मतसहित विजयी हुँदा एमाले उम्मेदवार राकेशबहादुर सिंहले २१५ पाउनु भएको थियो भने अभिषेकले २०१ मत ल्याउँदै तेस्रो हुनुभएको थियो । तर हालको चुनावी प्रतिस्पर्धामा भने एमाले र काँग्रेस उम्मेदवार बीच नै कडा प्रतिस्पर्धा रहेको सहज अनुमान लगाउने सक्ने चुनावी दृश्य देखिएको छ । यहाँ एमाले र काँग्रेसमध्ये कस्ले चुनाव जित्ने भनी प्रतिस्पर्धा चलिरहँदा माओवादी र समाजवादीले भने आफूले विगतमा पाएको मत मात्रै सुरक्षित गर्न सक्दा पनि उपलब्धी हुने गरी अगाडि बढेको देखिन्छ ।

२०५६ को आमनिर्वाचनसम्म कांग्रेसको दबदबा रहेको बझाङमा त्यसपछि एमालेले प्रभाव विस्तार गरेको हो । २०७९ मा प्रत्यक्षतर्फ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको तत्कालीन गठबन्धनसँग हार व्यहोरेको एमालेले समानुपातिकमा भने सबैभन्दा धेरै मत पाएको थियो । २०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका सिंह १७ हजार १ सय १२ मतसहित विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत पाउनु भएको थियो । यस्तै राप्रपा नेपालका उम्मेदवारले ४२६ र राप्रपाका उम्मेदवारले ४०६ मत पाएका थिए ।

२०४८ को आमनिर्वाचनमा बझाङमा २ वटा निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो । २०५१ को मध्यावधी निर्वाचनमा बझाङ–१ मा एमालेका भानुभक्त जोशी र २ मा स्वतन्त्र उम्मेदवार नरेशबहादुर सिंह निर्वाचित हुनुभएको थियो । सिंह अहिले कांग्रेसमा हुनुहुन्छ । २०५६ को आमनिर्वाचनमा बझाङका २ क्षेत्रमा कांग्रेसले पुनरागमन गरेको थियो । २०६४ मा बझाङ– १ मा एमाले र २ मा माओवादी केन्द्र विजयी भएको थियो । २०७० को निर्वाचनमा बझाङका २ वटै क्षेत्रमा एमाले निर्वाचित भएको थियो ।

२०७२ पछि एउटा प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्र तोकियो । त्यसपछि २०७४ मा भएको निर्वाचनमा प्रतिनिधिसभामा एमाले निर्वाचित भयो भने प्रदेशसभा ‘क’ मा एमाले र ‘ख’ मा माओवादी केन्द्रले जित्यो । एमाले–माओवादीको तत्कालीन वाम गठबन्धनविरुद्ध चुनावी मैदानमा उभिएको कांग्रेसले बझाङका प्रतिनिधि र प्रदेशसभा गरी ३ वटै सिटमा हार व्यहोरेको थियो । २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभामा एमाले नील भयो । गठबन्धनका दलहरुले चुनाव जिते पनि प्रदेशसभा र स्थानीय तहको विगतको मत परिणाम हेर्दा एमाले बलियो देखिन्छ । उसको निकटतम प्रतिस्पर्धीमा कांग्रेस रहेको छ ।

केन्द्रदेखि प्रदेशसम्म एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धनको सरकार हुँदा बझाङमा भने यी दुबै पार्टी आमनेसामने छन् । समाजवादी र माओवादीमा को तेस्रो हुने प्रतिस्पर्धा बाहेक जितको संभावना देखिदैन । समानुपातिक मत हेर्दा एमाले देखिए पनि, समाजवादी र माओवादी दुबै उम्मेदवारले एमाले लिगेसीका मतहरु नै काट्ने देखिन्छ । एमाले र काँग्रेसमध्ये कस्ले जित्ने भन्नेमा पूर्वाअनुमान सहज छैन ।

समाजवादी र माओवादीले मतदाता संरक्षण गर्ने, आफ्नो आकार थाह पाउनेबाहेक एमाले कसरी हराउने भन्ने आरिसले समेत उम्मेदवारी दिएको आरोप समेत सर्वसाधारणको छ । नजितेपनि मन नपर्नेलाई हराउने र काँग्रेस एमालेपछि को हुने भन्नेमा कडा प्रतिस्पर्धा बझाङ उपनिर्वाचनमा देखिएको छ ।