जनता टाइम्स

१३ बैशाख २०८१, बिहीबार १६:४१

गृहमन्त्रीबाट शक्तिको चरम दुरुपयोग, आलोचना गर्नेमाथि प्रहरी लगाएर यातना दिँदा एक युवाले गरे आत्महत्या प्रयास


काठमाडौं, बैशाख १३ । सामाजिक सञ्जालमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको आलोचनात्मक ‘कमेन्ट’ गरेकै आधारमा प्रहरीले यातना दिएको भन्दै एक युवकले आत्महत्याको प्रयास गरेका छन ।

सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्दा प्रहरीले यातना दिएको जनाएर एक युवकले बुधवार आत्महत्याप्रयाश गरेका हुन । जाजरकोटको कुशे गाउँपालिका स्थायी घर भएका गणेशमानसिंह ठकुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरी गृहमन्त्री लामिछानेविरुद्ध किन फेसबुकमा ‘कमेन्ट’ गरेको भन्दै मानसिक तनाब दिएपछि नेपाल प्रहरीको काठमाडौंस्थित साइबर ब्युरोकै ढोकामा आत्महत्या प्रयास गरेको उहाँका भाइ मानबहादुरले बताउनु भयो ।

ठकुरीले अत्यधिक औषधी सेवन गरेपछि प्रहरीले नै वीर अस्पताल पुर्याएको थियो । वीरमा उपचार हुन नसकेपछि राति कीर्तिपुरस्थित बर्न अस्पतालको आइसियुमा भर्ना गरिएको छ । उहाँको अवस्था चिन्ताजनक रहेको मानबहादुरले बताउनु भयो । ‘गृहमन्त्रीको आदेश छ–१० वर्ष जेल हाल्छौं भन्दै प्रहरीले धम्क्याएछन, प्रहरीको धम्कीबाट आत्तिएर आत्महत्या प्रयाश गर्नुभएछ,’ उहाँका भाइ मानबहादुरले भन्नुभयो ।

यो घटना सार्वजनिक भएपछि गृहमन्त्री र उहाँको सचिवालयले अघोषित रूपमा सुरक्षा निकायको दुरूपयोग गरी विचार अभिव्यक्तिमाथि प्रतिबन्ध लगाएर आत्महत्याको बाटो रोज्न बाध्य बनाएको आरोप लागेको छ । लोकसेवा आयोगले लिने परीक्षाको तयारी गरिरहेका ठकुरीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ ।

ठकुरीले सहकारी ठगीको विषयमा गृहमन्त्री लामिछानेको नाम जोडिएपछि उहाँले प्रष्टीकरण दिनुपर्ने भन्दै कसैले सामाजिक सञ्जालमा गरेको पोस्टमा सहमति जनाउँदै प्रतिक्रिया दिनुभएको थियो । यसै विषयलाई लिएर प्रहरीले पक्राउ गरी मानसिक तनाब र धम्की दिएको हो ।

‘दाजुले प्रहरीको तनाव खप्न नसकेर र जेल जानुभन्दा मर्नु नै उपयुक्त ठानी विष सेवन गर्नुभएको रहेछ,’ भाइ मानबहादुरले भन्नुभया । उहाँका अनुसार प्रहरीले गणेशमानलाई ‘गृहमन्त्रीज्यूलाई किन गाली गरेको, फेसबुकमा किन लेखेको ?, तँसँग सहकारी ठगेको भन्ने कुनै प्रमाण छ, प्रमाण भए यहाँ राख, होइन भने तँलाई गृहमन्त्रीको आदेश छ– १० वर्ष जेल हाल्ने’ भन्दै धम्क्याएका रहेछन । ‘गृहमन्त्रीविरुद्ध किन लेखेको भनेर दाजुलाई पाँचजना प्रहरीले घेरा हालेर टर्चर दिएका रहेछन्,’ मानबहादुरले भन्नुभयो ।

मानबहादुरले दाजु गणेशमानको फेसबुक पेजमा प्रहरीले नै पुरानो कमेन्टमा सम्पादन गरेको समेत बताउनु भयो । ‘मोबाइल प्रहरीले लगेको थियो, त्यहाँ तीनपटक सम्पादन गरेको देखिन्छ,’ मानबहादुरले भन्नुभयो । ब्युरोका प्रहरीले यसै विषयमा ठकुरीलाई तीन दिनअघि पनि कार्यालयमा बोलाएको जानकारी उहाँले दिनुभयो । दोस्रोपटक ब्युरोका प्रहरीले बुधबार उहाँलाई बोलाएर जेलमै सडाउने धम्की दिएको भाइ मानबहादुरको भनाइ छ ।

गोर्खा मिडिया प्रालिका नाममा ग्यालेक्सी टिभी सञ्चालन गर्दा आफैं सञ्चालक समितिमा रहेका लामिछानेमाथि सुप्रिम, सूर्यदर्शनलगायतका सहकारीबाट करोडौं रूपैयाँ लिएर अपचलन गरेको आरोप लागेको छ। सहकारीपीडित अन्यायमा परेका बेला सहकारीको रकम ठगीबारे प्रश्न गर्नेलाई गृहमन्त्रीले सुरक्षाकर्मी लगाएर विष सेवन गर्नुपर्नेसम्मको परिस्थितिमा पुर्याएको घटना निकै दुखद भएको भन्दै सामाजिक सञ्जालमा चर्काे आलोचना भएको छ । यद्यपी प्रहरीले भने यो भनाईको खण्डन गरेको छ ।