जनता टाइम्स

१३ बैशाख २०८१, बिहीबार १८:०७

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए बिश्वासको मत, अव हुनेछ मन्त्रिपरिषद बिस्तार


सुर्खेत, बैशाख १३ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाउनु भएको छ ।

प्रदेश सभामा आज भएको मतदानमा मुख्यमन्त्री कँडेलले २३ मत पाउनु भएको हो । कुल ४० सदस्यीय कर्णाली प्रदेश सभामा आज ३६ सांसद उपस्थित भएका थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा १२ र १ मत तटस्थमा परेको छ ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । कांग्रेसका एक सांसद निलम्बनमा परेका छन ।यसैगरी राप्रपा, एकीकृत समाजवादीका एकरएक र स्वतन्त्र एक सांसद छन् ।

आजको बैठकमा कांग्रेसका तीन सांसद् उपस्थित भएनन् । राप्रपा तटस्थ बसेको छ । प्रदेश सभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ । नेकपा एमालेका नेता कँडेल चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । कँडेल कर्णालीको चौथो मुख्यमन्त्री हुनुहुन्छ । मख्यमन्त्री कँडेलले बुधबार मात्रै नेकपा माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएको १७ दिन पुग्दा पनि कँडेलले अझै मन्त्रिपरिषदलाई भने पूर्णता दिन सक्नुभएको छैन । विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री कँडेल रहनुभएका कारण अव पुर्णता पाउने भएको छ ।