जनता टाइम्स

१४ बैशाख २०८१, शुक्रबार १४:४१

उप-निर्वाचनको दिन सार्वजनिक सवारी चलाउन पाइने


काठमाडौं, १४ बैशाख । निर्वाचन आयोगले उपनिर्वाचनको दिन पनि सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । वैशाख १५ गते शनिबार इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उपनिर्वाचन हुँदैछ । आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेका अनुसार यसअघिनै गृह मन्त्रालयमार्फत् प्रमुख जिल्ला अधिकारीहरूलाई सार्वजनिक सवारी साधन चलाउने निर्देशन दिइएको थियो ।

यसअघिका निर्वाचनमा भने अत्यावश्यक सेवा र पास जारी भएका सवारी मात्रै निर्वाचन हुने दिन सञ्चालन गर्न दिइन्थ्यो ।

तर, उपनिर्वाचनमा भने मतदाताको सहज आवागमनका लागि सुरक्षालाई ध्यानमा राख्दै सार्वजनिक सवारी चलाउन दिइने निर्णय भएको पाण्डेले बताउनुभयो । आयोगले उपनिर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन गर्न दिन गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पनि निर्देशन दिएको छ । ‘सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनका लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने’ आयोगको निर्णय छ ।