जनता टाइम्स

१५ बैशाख २०८१, शनिबार ११:४४

राप्रपा नेतामाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा, छुटाउन चौकी पुगेका थिए रवीन्द्र मिश्र र धवल शमशेरसहितका यी नेता


काठमाडौं, बैशाख १५ । राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका नीराजन बम रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले म्याद थप नगरेपछि बम रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंंले जनाएको छ ।

कालिकोटको तलाताँ गाउँपालिका वडा नम्बर घर भई हाल काठमाडौँको निलोपुल बस्ने ३१ वर्षीय बमलाई बिहीबार प्रहरीले पक्राउ गरेर वृत्त महाराजगन्जमा राखेको थियो । राप्रपाका कार्यकर्ता (घटनापछि निलम्बित) बम श्रेष्ठको जाहेरीको आधारमा पक्राउ परेका थिए ।

श्रेष्ठले राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, सहमहामन्त्री प्रेम बलायरसहित रिद्वि जंगबहादुर राणा, हिकमत कार्की र बमविरुद्ध जाहेरी दिएका थिए । सो घटनाका सम्बन्धमा बम बिहीबार पक्राउ परेपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, कुन्ती शाही, केन्द्रीय सदस्य जनकराज पाठकलगायतका नेताहरूले बमको रिहाइका लागि दबाब दिँदै आउनु भएको थियो ।

मिश्रलगायत सवै नेतासँगै प्रहरी चौकीमा पुगेका राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले पनि सामान्य घटनालाई पार्टीभित्रैबाट अपराधीकरण गर्न खोजिएकाले बमको तत्काल रिहाइ हुनुपर्ने आफूहरुको धारणा रहेको बताउनु भएको थियो । बमविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा चलाउन म्याद थप गर्न अदालतमा शुक्रबार उपस्थित गराएपनि म्याद नपाएसँगै शुक्रबार नै रिहा भएका हुन ।