बीरगञ्ज, बैशाख १७ । काठमाडौंको गोठाटारमा गोली हानी हत्या गरिएका अभियुक्त पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले वीरगञ्जमा गोली हानी सो घटनाका अभियुक्त पक्राउ गरेको हो ।
घटनामा काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका एक आरोपी घाइते भएका छन् । घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान छन् । उनको साथबाट प्रहरीले लागूऔषध समेत बरामद गरेको छ ।
पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको पर्साका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेल बताउँछन् । त्यसक्रममा गोली हानेर उनलाई नियन्त्रणमा लिइएको ढुंगेलले बताउनु भयो ।
प्रहरीका अनुसार, पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा जेल बसेर छुटेका व्यक्ति हुन् । ३ असोज २०७९ मा काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली हालेर मोहम्मद मारिएका थिए । उनी मारिएपछि भारतीय सञ्चारमाध्यमहरुमा मोहम्मदलाई पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँग जोडेर प्रचार गरिएको थियो ।
उनी मारिनुअघि नेपाल प्रहरीसँग मोहम्मदबारे भारतीय पक्षले चासो राख्दै आएको थियो । उनको हत्यामा प्रयोग भएको हतियार पासवानले नै व्यवस्थापन गरेको प्रहरीको भनाइ छ । उनी घटना भएका बेला गोठाटारमै भएको समेत आशंका छ ।
प्रतिक्रिया दिनुहोस्