जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार १८:५९

बझाङमा माधव नेपाल नेतृत्वको नेकपा एससहित ८ उम्मेदवारको जमानत जफत


बझाङ, बैशाख १७ । बझाङमा भएको प्रदेशसभा ‘क’ को निर्वाचनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहित ८ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एसका दिलबहादुर सिंहसहित ८ जना उम्मेदवारले सिलिङ पूरा गर्न नसकी जमानत जफत भएको हो ।

यसरी जमानत जफत हुनेहरूमा राप्रपाका किशोरकुमार खड्का, जसपाका रामबहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपकबहादुर खड्का, जनमत पार्टीकी सुशीलादेवी विष्ट, नेमकिपाका खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक नेपालका कमल घर्ती मगर हनुभएको छ ।

बझाङ ‘क’ मा उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित हुँदा कांग्रेस उपबिजेता बन्यो । यस्तै तेस्रो बनेको नेकपा माओवादी केन्द्रका उम्मेदवारको जमानत जोगिएको छ । निर्वाचनमा जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ ।’