जनता टाइम्स

१८ बैशाख २०८१, मंगलवार ०८:१३

इलाममा रास्वपा उम्मेदवार मिलनको जमानत जफत


इलाम, बैशाख १८ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ । नेकपा माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बन्नुभएका पत्रकार मिलन लिम्बुले जमानत जोगाउनै नसक्नुभएको हो ।

कुल ६९ हजार ४ सय मथ खसेकोमा लिम्बुले केवल ५ हजार ५० मत मात्रै पाउनु भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो ।

उपनिर्वाचनमा गणना भएको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो । ९०२ मत बदर भएको थियो । मिलन पाएको मत कूल सदर मतको १० प्रतिशत नपुग्ने भएकाले उनको जमानत (धरौटी) जफत भएको हो ।

प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी हुनुभएको हो ।

सुहाङ २७ हजार ७७२ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाउनुभयो । निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाउनुभएको छ ।

निर्वाचन ऐनमा प्रत्यक्षतर्फको चुनावमा उम्मेदवारहरुले १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिकतर्फको चुनावमा ५० हजार रुपैयाँ निर्वाचन आयोगमा बुझाउनुपर्छ । तर प्रत्यक्षतर्फको चुनावमा महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट पाइन्छ । इलाम उपनिर्वाचनमा जमानत नै जफत भएपछि रास्वपामाथि बज्रपात भएको छ ।