जनता टाइम्स

१८ बैशाख २०८१, मंगलवार १५:२६

कर्णालीको सरकार विस्तार, को-को बने मन्त्री ?


सुर्खेत, १८ बैशाख । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गर्नुभएको छ । आज मुख्यमन्त्री कँडेलले एक राज्यमन्त्रीसहित ७ जना मन्त्री नियुक्त गर्नुभएको हो । उहाँहरूलाई आजै प्रदेश प्रमुखले शपथ गराउने तालिका रहेको छ ।

मन्त्री बन्नेमा माओवादी केन्द्रबाट महेन्द्र केसी आर्थिक मामिला तथा योजना मन्त्री, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, रणसिंह परियार जलस्रोत तथा उर्जा विकास मन्त्री र वीरबहादुर शाहीलाई सामाजिक विकास मन्त्री नियुक्त हुनुभएको छ । उर्जा मन्त्री बनेका परियार यसअघि विनाविभागीय मन्त्री नियुक्त हुनुभएको थियो ।

त्यसैगरी एमालेबाट विनोद कुमार शाह भूमि व्यवस्था, कृषि तथा सहकारी, शेरबहादुर बुढा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा नियुक्त हुनुभएको छ । मुख्यमन्त्री कँडेलले गमता विकलाई भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त गर्नुभएको छ । एमालेले भाग पाएको आन्तरिक मामिला तथा योजना मन्त्रालय कँडेलले आफैसँग राख्नुभएको छ । कर्णालीमा मुख्यमन्त्रीसहित आठ मन्त्रालय छन् ।