जनता टाइम्स

१८ बैशाख २०८१, मंगलवार २२:३५

कर्णाली एमालेलाई सत्ता बन्यो बाँदरको हातमा नरिवल : रोजेको मन्त्रालय नपाएको भन्दै एमालेकै नेताले गरे शपथ बहिष्कार


सुर्खेत, बैशाख १८ । नेकपा एमाले कर्णालीलाई प्रदेश सरकार बाँदरको हातमा नरिवल सावित भएको छ । आफ्नै कारण पटक पटक अवसर गुमाएर पहिलो पटक सकारको नेतृत्व पाएको कर्णाली एमाले आफैभित्र नमिलेर देखाइदिने भन्दै शत्रु हँसाउन थालेपछि सत्ता बाँदरको हातमा नपरवल सावित भएको हो ।

एमाले स्थायी कमिटीका सदस्य रहनुभएका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो दल नेकपा एमाले र सत्ता सहयात्री नेकपा माओवादी केन्द्रका नेताहरुलाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिएपछि एमालेभित्रको बिवाद छताछुल्ल भएको छ ।

मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिँदा एमालेकै नेता विनोदकुमार शाह भने बहिष्कारमा उत्रनुभयो । मुख्यमन्त्री कँडेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएपछि असन्तुष्टि जनाउँदै शाहले शपथ बहिस्कार गर्नुभयो । शाहले भौतिक मन्त्रालय चाहिने अडान राख्नुभएको थियो ।

गत वर्ष प्रदेशसभा निर्वाचनपछि बनेको माओवादी नेता राजकुमार शर्मा नेतृत्वको एमाले–माओवादी गठबन्धन सरकारमा शाह आर्थिक मामिला तथा योजनामन्त्री हुनुहुन्थ्यो । पछि माओवादी– कांग्रेस गठबन्धन बनेपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

शाहले आफ्नै दलको नेता मुख्यमन्त्री हुँदा आफूले चाहेको मन्त्रालय नपाएको भन्दै शपथ ग्रहण बहिस्कार गरेपछि मुख्यमन्त्री कँडेलसँगको तिक्तता सतहमा आएको हो । माओवादीसँग सत्ता साझेदारी गर्दा कर्णालीमा एमालेले भौतिक पूर्वाधार तथा शहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालय परेको थियो ।

मुख्यमन्त्री कँडेलले आफ्नो दलबाट शाहलाई कृषि, शेरबहादुर बुढालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिनुभएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैसँग राख्नुभएको छ ।यस्तै सांसद गमता विकलाई भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्री बनाउनु भएको छ ।