जनता टाइम्स

१९ बैशाख २०८१, बुधबार २२:४५

एमाले सचिव बिष्टको निश्कर्ष : उपनिर्वाचनले भावी राजनीतिको स्पष्ट दिशानिर्देश गरेको छ


बागलुङ, बैशाख १९ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले इलाम र बझाङको उपनिर्वाचनले एमाले मात्रै सही पार्टी रहेको प्रष्ट सन्देश मिलेको बताउनु भएको छ । नेकपा एमाले जिल्ला कमिटी बागलुङको आज आयोजना गरेको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण कार्यक्रममा सचिव बिष्टले यस्तो बताउनु भएको हो ।

उहाँले इलाम र बझाङमा भएको उपनिर्वाचनले भावी राजनीति कुन दिशामा जान्छ भन्ने प्रष्ट सन्देश दिएको बताउनु भयो । ‘इलाम र बझाङको उपनिर्वाचनले एमालेको मिसन ८४ लाई सफल बनाउने पुष्टि गरेको छ । भावी राजनीति कुन दिशामा जान्छ भन्ने सन्देश पनि दिएको छ,’ एमाले गण्डकी इञ्चार्जसमेत रहनुभएका सचिव बिष्टले भन्नुभयो ।

उहाँले उपनिर्वाचनको परिणाम इलाम र बझाङमात्र नभई सबैलाई भएको बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टी र जातीय पार्टीप्रति लक्षित गर्दै विचारविहीन राजनीतिक दललाई जनताले बहिष्कार गरेको बताउनु भयो । ‘समय समयमा जसरी भुलकाहरू आउँछन, त्यसरी समाप्त हुन्छन्,’ सचिव विष्टले भन्नुभयो, ‘विचारविनाका पार्टी लामो समय टिक्दैनन भन्ने उपचुनावले पुष्टि गरेको छ । २०८४ को निर्वाचनले अझै पुष्टि गर्नेछ ।’

सम्बोधनको क्रममा उहाँले जनमत एमालेसँग रहेको र त्यसलाई जोगाउनु पर्ने धारणा राख्नुभयो । पार्टीभित्र आन्तरिक विरोध र समस्या उत्पन्न हुने गरेपनि त्यसलाई विधि र संवादमार्फत समाधान गर्नुपर्ने बताउनु भयो ।

एमालेलाई देशको पहिलो राजनीतिक शक्ति हुनबाट कसैले रोक्न नसक्ने ठोकुवा गर्दै विष्टले पार्टीलाई थप शक्तिशाली बनाउन नेता कार्यकर्तालाई एकजुट हुन आग्रह गर्नुभयो । आउँदो निर्वाचनमा बागलुङका सबै स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा जित्ने गरेर काम गर्न पनि सचिव बिष्टले नयाँ कमिटीलाई निर्देशन दिनुभयो ।