जनता टाइम्स

२० बैशाख २०८१, बिहीबार ०९:१९

हाम्रा मतदाताले एमालेलाई भोट हालेपछि पार्टी उम्मेदवारको जमानत जफत भयो : झलनाथ खनाल


काठमाडौं, बैशाख २० । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले इलाम–२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका मतदाताले एमाले उम्मेदवारलाई भोट हाल्दा पार्टीका उम्मेदवारको जमानत जफत भएको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका खनालले इलाममा पार्टीको शक्ति क्रान्तिकारी ढङ्गले परिचालित गर्न नसक्दा सोचेजति मत नआएको बताउनु भयो । ‘इलामममा हाम्रो पार्टीको शक्ति नभएको होइन । तर त्यो शक्ति क्रान्तिकारी ढङ्गले परिचालित नै हुन सकेन,’ खनालले भन्नुभयो, ‘आफ्नो शक्ति हुँदाहुँदै पनि अन्ततः साथीहरूले वामपन्थी एकताका नाममा तलैतलैबाट एमाले उम्मेदवारलाई मतदान गरे । यसले गर्दा हाम्रो स्थिति कमजोर देखियो ।’

एकीकृत समाजवादीले क्रान्तिकारी दिशा, नीति, सिद्धान्त, लक्ष्य, कार्यशैली र कार्यपद्दति लिएर जनतामा क्रान्तिकारी पार्टीको छवि निर्माण गर्दै जान नसक्नु आफूहरूको कमजोरी भएको खनालको ठहर छ । ‘हाम्रो पार्टी क्रान्तिकारी दिशा, नीति, सिद्धान्त, लक्ष्य, कार्यशैली र कार्यपद्दति लिएर अघि बढ्नुपर्ने थियो । यो विचार र कार्यक्रम लिएर जनताका बीचमा क्रान्तिकारी पार्टीको छवि निर्माण गर्दै जान सकिएन’, खनालले भन्नुभयो, ‘तर ती कुराहरू राम्रो ढङ्गले अघि बढाउन नसक्दा पार्टीप्रतिको आकर्षण कमजोर हुँदै गएको पाइयो ।’

इलाममा नेता खनाल चुनावी कमाण्डरका रूपमा समेत खटिनुभएको थियो । इलाम खनालको गृहजिल्ला समेत हो । तर निर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मतसहित निर्वाचित हुँदा एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले ४ सय ८ मत मात्र पाएर जमानत जोगाउनु सक्नुभएन ।

कुल १ लाख १५ हजार ८८९ जना मतदाता रहेको इलाम २ मा ६९ हजार ३७४ मत खसेको थियो । जसमा कांग्रेस उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मतसहित दोस्रो, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु ११ हजार ४५७ मतसहित तेस्रो र रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाउनु भएको थियो ।