जनता टाइम्स

२० बैशाख २०८१, बिहीबार २३:०५

एमाले बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी निर्वाचित, यी हुन पदाधिकारी टीम


बर्दिया, बैशाख २० । नेकपा एमाले बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनको मतगणनामा प्रतिस्पर्धी निवर्तमान जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठलाई १० मतले पराजीत गर्दै अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अधिकारीले १ सय ८० मत प्राप्त गर्दा श्रेष्ठले १ सय ७० मत पाउनु भयो । यसैगरी उपाध्यक्षमा दुर्गाबहादुर वली निर्वाचित हुनुभएको छ । वलीले १ सय ७९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी कृष्णप्रसाद गौतमले १ सय ५९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी सचिवमा पदम ढकालले १ सय ७९ मत प्राप्त गरी बिजयी हुनुभयो भने प्रतिद्वन्द्वी नैन बहादुर खत्रीले १ सय ६८ मत प्राप्त गरी पराजित हुनुभएको छ । उपसचिव खुलातर्फ लहानु थारूले १ सय ७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी जीवन शाहीले १ सय ५८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपसचिव महिलातर्फ संगीता थारूले १ सय ८७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने प्रतिद्वन्द्वी मन्जु शर्माले १ सय ५१ मत प्राप्त गर्नुभएको छ । एमाले बर्दियाको १० औं अधिवेशनले कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्न नसकेपछि निर्वाचन प्रक्रियामा गएको थियो। दुई वटा प्यानलमा निर्वाचनमा सहभागी थिए। कुल ३ सय ६४ प्रतिनिधि मतदाता रहेको अधिवेशनमा ३ सय ५९ मत खसेको थियो।

अधिवेशनबाट ५ जना पदाधिकारीसहित १ सय ५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ। अधिवेशनले विष्णु भट्टराईको अध्यक्षतामा ७ सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिले जनाएको छ। बुधबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशन बिहीबार सकिएको छ।