जनता टाइम्स

२१ बैशाख २०८१, शुक्रबार १९:३५

झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा


विराटनगर, २१ वैशाख । झापाको दमकमा आज एक छात्रामाथि गोली प्रहार भएकोमा गोली हान्ने उनकै पूर्व शिक्षक रहेको खुलेको छ । आज परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई मध्यान्न १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए । एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छन् ।

उनी ११ मा भर्ना हुन अघिल्लो साल सो विद्यालय गएकी थिइन् । प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठका अनुसार घटनामा संलग्न भनिएका यादव उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए । एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छन् । अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ । भिडिओमा एनिकाले आफूलाई यादवले पढाएको र दमक आएपछि पनि एक–दुई पटक भेट्न आएको भनेकी छिन् ।

प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको बताएकी छन् । यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको एनिकाको भनाइ छ । नाभि छेउमा गोली लागेकोमा निकालिएको अस्पतालले जनाएको छ । दमकस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका हुन् । गोली हान्नुको बाँकी कारण खुलिसकेको छैन ।