जनता टाइम्स

२२ बैशाख २०८१, शनिबार १०:१०

पत्रकार महासंघको महाधिवेशनबाटै तोकियो निर्वाचन मिति, यस्तो छ चुनावको कार्यतालिका


काठमाडौं, बैशाख २२ । नेपाल पत्रकार महासंघले निर्वाचन मिति तोकेको छ । शुक्रबार रातिसम्पन्न महासंघको २७ औँ महाधिवेशनले आगामी जेठ २६ गते महासंघको निर्वाचन गर्ने मिति तोकेको हो ।

महाधिवेशनले आगामी जेठ २६ गते निर्वाचन गर्ने निर्णय गरेको अध्यक्ष बिपुल पोखरेलले जानकारी दिनुभयो । महासचिव रोशन पुरीले केन्द्रीय समितिको निर्णयअनुसार प्रस्तुत गर्नुभएको निर्वाचनको मितिलाई ब्यापक छलफलपछि निर्वाचनको मिति तोकिएको हो ।

महासंघ केन्द्रीय समितिले जेठ १९ गते निर्वाचन गर्ने निर्णयसमिति निर्वाचनको प्रस्ताव गरेकोमा सो दिन दरवार हत्याकाण्ड भएको कालो दिन परेकोले २६ गते गर्ने निर्णय गरेको महाधिवेशन अध्यक्षमण्डलका संयोजक तथा पूर्वअध्यक्ष धर्मेन्द्र झाले बताउनु भयो ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले जेठ १९ गतेका लागि मिति प्रस्ताव गरेको थियो । तर महाधिवेशनको बन्द सत्रमा छलफलका लागि प्रतिनिधिहरूले एक साता पर धकेल्न माग गरेपछि महासंघले २६ जेठमा केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरुको एकसाथ निर्वाचन गर्ने निर्णय गरेको हो । महाधिवेशनले निर्वाचन समितिको संयोजकमा त्रिबि अमसञ्चार बिभागका प्रमुख चिरञ्जीवि खनाललाई तोकेको छ ।

नेपाली पत्रकारहरुको छाता संस्था महासंघमा हरेक तीन वर्षमा नेतृत्व परिवर्तन हुने गर्दछ । प्रत्यक्ष निर्वाचनको व्यवस्था भएका कारण महासंघको नेतृत्वका लागि हरेक साधारण सदस्यले मताधिकार पाउँछन । महाधिवेशनले यसअघि सुर्खेत साधरण सभाले गठन गरेको महासचिव रोशन पुरी नेतृत्वको समितिलाई बैशाख मसान्तभित्र निर्वाचन समितिलाई बुझाउन निर्देशन दिएको छ ।