जनता टाइम्स

२२ बैशाख २०८१, शनिबार ०९:५३

सुदूरपश्चिममा एमालेलाई थप चिढ्याउदै मुख्यमन्त्री, आजै विश्वासको मत लिने बालहठ


धनगढी २२ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले सत्ता साझेदार दल नेकपा (एमालेलाई) थप चिढ्याउदै लगेका छन् । एमालेले बझाङ (क)बाट नवनिर्वाचित दमनबहादुर भण्डारीको सपथपछि मात्र विश्वासको लिने मिति तोक्न नेकपा(एकीकृत समाजवादी) लाई आग्रह गरे पनि बालहठ देखाउदैं आजै विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक डाकेका छन् ।

हिजो विश्वासको मत पाउने सम्भावना क्षीण भएपछि आजको लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ । एमालेले संसदीय दलका नेता राजेन्द्र रावलले भने ‘‘हामीले विश्वासको मत नदिने भनेकै छैनौँ अहिले किन हतार गर्नु पर्‍यो ।’ उनले ‘हिजो पनि एमालेसँग सल्लाह नगर्ने आजको लागि पनि सल्लाह नगर्ने यसरी गठबन्धन नचल्ने बताए ।

बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताएको छ । बझाङमा हाम्रो एक जना सांसदको बुवाको निधन भएको १५ दिन पनि बितेको छैन । ‘उहाँले धनगढी आउन दिनुपर्दैन ’ ,रावल भन्छन्, ‘कोही व्यक्तिलाई हतार भयो भन्दैमा हामीले छलफल परामर्श नगरी विश्वासको मत दिने भन्ने हुँदैन । ’

उता नेपाली कांग्रेसले प्रदेश प्रमुखले अवैधानिक ढंगले मुख्यमन्त्री नियुक्त गरेकोभन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ । कांग्रेसले सोडारीले विश्वासको मत लिने दिन सदनदेखि सडकसम्म अवरोध गर्ने निर्णय सार्वजनिक गरेको छ । यता एमालेले विश्वासको मत नदिए गठबन्धनमा केन्द्रदेखि सबै प्रदेशको गठबन्धनबाट बाहिरिने एकीकृत समाजवादीले धम्की दिदं आएको छ ।