जनता टाइम्स

२२ बैशाख २०८१, शनिबार १६:२३

अधिवेशनको मिति नजिकिँदै जाँदा एमाले रामेछापमा ह्वात्तै बढे नेतृत्वका आकांक्षी, यी हुन नेतृत्वका दावेदार


रामेछाप, बैशाख २२ । नेकपा एमाले रामेछापको नवौं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशनको मिति नजिक आएसँगै नेतृत्व लिन नेताहरुबीच तीब्र लबिङसमेत सुरु भएको छ ।

एमाले रामेछापको नवौं जिल्ला अघिवेशन वैशाख २६ देखि २८ सम्म मन्थलीमा हुने तय भइसकेको छ । अधिवेशन सम्पन्न गर्न जिल्ला कमिटीको बैठकले बनाएको ९ वटा उप समितिले तीब्र रुपमा आफ्नो कामलाई अघि बढाएको छ ।

एमाले रामेछाप अध्यक्ष आनन्दकुमार श्रेष्ठका अनुसार १० औं पूर्ण बैठकले उप-समितिहरुलाई पुर्णता दिएको छ । सो समितिले काम गरिरहेको र अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको सचिव पुरुषोत्तम कडेरियाले बताउनुभयो ।

यसपटक एमालेको रामेछाप जिल्ला अध्यक्षका लागि वर्तमान सचिव पुरुषोत्तम कडरिया प्रमुख दावेदार रहनुभएको छ । अध्यक्ष श्रेष्ठ स्वयं कडरियालाई नेतृत्व सुम्पने गृहकार्यमा रहेको कतिपयको बुझाइ रहेको छ ।

वर्तमान अध्यक्ष आनन्द कुमार श्रेष्ठ प्रदेश सभा सदस्य भएकाले अध्यक्षमा दोहोरिन पार्टीको मापदण्डले नदिएको कारण कडेरियालाई अघि सार्न चाहनुभएको बताइन्छ । यस्तै अध्यक्षमा वर्तमान जिल्ला कमिटी उपाध्यक्ष इन्द्र तामाङको पनि बलियो दावी गरिरहनु भएको छ । खाँडादेवी गाउँपालिकाका पूर्वअध्यक्ष प्रेम तामाङ पनि चाहना राख्नुभएको छ । वागमती प्रदेश कमिटीका निर्वाचित सदस्य तथा क्षेत्र नम्बर २ प्रदेश सभाका इन्चार्ज तामाङ अध्यक्ष उम्मेदवार बन्नकै लागि जिल्ला अधिवेशनको लागि प्रतिनिधि बनेर आउनु भएको छ ।

यस्तै अध्यक्षमा प्रदेश कमिटी सदस्यमा पराजित हुनुभएको उद्धब कडेरियाले पनि दावी गरिरहनु भएको छ । लिखु तामाकोशी गाउँपालिकामा उपविजेता हुनुभएको कमल कडेरियाले पनि आफू जिल्ला अध्यक्ष हुने आकांक्षा राख्नुभएको छ भने दुर्गा श्रेष्ठले पनि दावी गरिरहनु भएको छ । जिल्ला नेतृत्वको लागि निकै बलियो मानिनु हुने मन्थलीका मेयर लब श्रेष्ठ र खाँडादेवीका गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको पनि जनप्रतिनिधि पार्टीको कार्यकारी भूमिकामा नरहने नीति बमोजिम बाहिरिनुभएको छ ।

पार्टी नीति मानेर उहाँहरुले दावी नै गर्नुभएको छैन । अध्यक्षमा अन्य नेताहरु पनि दुई उम्मेद्वारका विचमा बिवाद देखिए तर मार्न सकिने भन्दै कुरेर बसेका छन । यस्तै अर्काे कार्यकारी पद सचिवमा वर्तमान उपसचिव प्रकाश कुमार कार्कीको दावी बलियो छ भने अर्का उपसचिव होतराज ढकालले पनि चाहना राख्नुभएको छ । सचिवमा खेलकुद महासंघका केन्द्रीय कोषाध्यक्ष उज्ज्वल सुवेदीले पनि आफ्नो चर्चा चलाउनु भएको छ । यस्तै उपसचिवमा युवा संघका केन्द्रीय सचिव जय गुरुङ, अखिलका पूर्वनेता सुजन कार्की, गोकुलगंगाका अध्यक्ष दिपक कार्की, मिलन घिसिङ, रोशन पाख्र्रिन, मखमली श्रेष्ठ, राधिका श्रेष्ठ, मन्जुमाया कार्कीलगायतको दावी रहेको नेताहरुले बताएका छन ।

अधिवेशनमा सर्वसम्मत गराउन बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, जिल्ला इन्चार्ज गणेश पहाडी र एमाले केन्द्रीय संगठन विभाग सचिव माधव ढुंगेलसहित रामेछापका केन्द्रीय सदस्य र सिनियर नेताहरुले प्रयाश थाल्नुभएको छ । उहाँहरुले इमान्दारिताका साथ प्रयाश गरे सर्वसम्मत हुने निश्चित जस्तै देखिएको छ । तर एकले अर्काबिरुद्ध उम्मेदवार खडा गर्ने काम नेताहरुले नै गरिरहेको आरोप पनि लागेको छ ।