जनता टाइम्स

२२ बैशाख २०८१, शनिबार १७:२४

केपी ओलीले उदघाटन गरेको एमाले पश्चिम नवलपरासीमा सर्वसम्मत नेतृत्व चयन, पदाधिकारीमा पुरानै अनुहार


नवलपरासी, बैशाख २२ । नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दिपेन्द्र अधिकारी निर्विरोध चयन हुनुभएको छ । शुक्रबारदेखि सुरु भएको ९ औं अधिवेशनमा अधिकारीसहित ३ जना अध्यक्षको उम्मेदवारी दर्ता गरिएको भएपनि नेताहरूले छलफलबाट सहमतिमा नेतृत्वको टुंगो लगाएका हुन् । अधिकारी निवर्तमान अध्यक्षसमेत हुनुहुन्छ ।

४२७ जना प्रतिनिधि रहेको जिल्लामा नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष दिपेन्द्र अधिकारी, उपाध्यक्ष डोलराज भण्डारी, सचिव धिरज बस्यालले उम्मेदवारी दर्ता गराउनु भएको थियो । तर अध्यक्षबाट ब्याक गरेर उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा धिरज शर्मा, उपसचिवमा राजन आचार्य र रिंगला यादवको नाममा सर्वसम्मती जुटेको छ ।

उहाँहरू निवर्तमान कार्यकालमा पनि सोही जिम्मेवारीमा रहनुभएको थियो । सहमतिका लागि एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्माकुमारी अर्याल, पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज बलराम अधिकारी, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, नेताहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल, वैजनाथ चौधरीले सहमति जुटाउनु भएको हो ।

एमाले नवलपरासी पश्चिमको अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार गर्नुभएको थियो । सो क्रममा उहाँले पार्टीविरूद्व चौतर्फि घेराबन्दी भएकोले नेतृत्व सर्वसम्मत बनाउन निर्देशन दिनुभएको थियो । अध्यक्ष ओलीले उदघाटन गर्नुभएको जिल्लामा अहिलेसम्म चुनाव भएको छैन ।