जनता टाइम्स

२३ बैशाख २०८१, आईतवार २०:२१

सिधाकुरालाई अडियो उपलब्ध गराउने तिमल्सिनालाई हिरासतमा राख्न सर्वोच्चको आदेश


काठमाडौं, बैशाख २३ । सर्वोच्च अदालतले ‘सिधाकुरा’ नामक अनलाइन तथा युट्युबलाई अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगाएको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले तिमल्सिनाको बयान नसकिएपछि सर्वोच्च अदालतका रजिस्ट्रारमार्फत प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।

सिधाकुराका प्रकाशक युवराज कँडेलले सर्वोच्च अदालतको इजलासमा अदालतको अवहेलनाको मुद्दामा बयान दिने क्रममा तिमल्सिनालाई पोलेका थिए । उक्त अडियो तिमल्सिनाले उपलब्ध गराएको बयान दिएपछि सर्वोच्चले बयानका लागि बोलाएको थियो । तिमल्सिनाको बयान सोमबार पनि निरन्तर रहने सर्वोच्चको आदेशमा उल्लेख छ ।

‘यस अदालतको आदेशानुसार आज बयानका लागि उपस्थित हुन आउनुभएका राजकुमार तिमिल्सिनाको बयान कार्य प्रारम्भ भएको तर सम्पन्न हुन नसकेकाले मिति २०६१।१।२४ गते १० बजे उक्त बयानलाई निरन्तरता दिने प्रयोजनका लागि निजलाई उपस्थित गराउने गरी यस अदालतका रजिष्टारमार्फत प्रहरीलाई जिम्मा लगाउनू ।’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘राजकुमार तिमिल्सिनाको बाँकी रहेको बयान कार्य मिति २०६१।१।२४ मा हुने भएकाले हेर्दाहेर्दैमा सो मितिमा इजलास समक्ष पेश गर्नु ।’

सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई भने सोमबार उपस्थित हुने गरी तारिखमा छोड्न आदेश दिइएको छ । ‘यस अदालतको मिति २०८१।१।१७ को आदेशानुसार बयानका लागि उपस्थित हुनु भएका सिधा कुरा डटकम अनलाईनका प्रकाशक युवराज कँडेलको मिति २०६१।०१।२० र कार्यकारी सम्पादक नविन ढुंगानाको मिति २०८१।०१।२१ मा बयान कार्य सम्पन्न भएको र मिति २०६९।०१।२० को आदेशानुसार म्याद सूचना दिइएका राजकुमार तिमिल्सिनाको बयान कार्य प्रारम्भ भै बाँकी नै रहेकोले मिति २०८१।१।२४ गते १० बजे उपस्थित हुनु भनी कार्यकारी सम्पादक नविन ढुंगाना र प्रकाशक युवराज कँडेल दुवैलाई तारेख दिनू ।’

सर्वोच्च अदालतका उपरजिस्टार गोविन्दप्रसाद घिमिरेले अदालतको अवहेलना गरेको भन्दै सिधाकुराका प्रकाशक युवराज कँडेलविरुद्ध मुद्दा दायर गर्नुभएको थियो ।