जनता टाइम्स

२४ बैशाख २०८१, सोमबार १५:४०

देखिन थाल्यो जसपा फुटको असर, १५ दिनपछि पुरानै जिम्मेवारीमा फर्किनु भयो अहिर


बुटवल, २४ वैशाख । जनता समाजवादी पार्टी विभाजनको तत्काल असर लुम्बिनी प्रदेशमा देखिएको छ । जसपाका प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले १५ दिनपछि कृषिमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको छ ।

मुख्यमन्त्री जोखबहादुर महरासँग भएको छलफलपछि उहाँले सोमबार मन्त्रालयमा गएर काम थाल्नु भएको हो । २५ चैतमा मन्त्री नियुक्त भएका अहिरलाई मुख्यमन्त्रीले ६ वैशाखमा कृषि मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । सरकार गठनका क्रममा जसपालाई दुई वटा मन्त्रालय दिने लिखित सहमति भएको थियो । तर एउटा मन्त्रालय मात्र दिएको भन्दै जसपाले सरकार छाड्ने निर्णय गरेपछि ९ वैशाखमा राजीनामा दिनुभएको थियो ।

मुख्यमन्त्रीले असन्तुष्टि सम्बोधन गर्दै जाने वचन दिएपछि पदभार सम्हाल्न तयार भएको उहाँले बताउनुभयो । ‘मुख्यमन्त्रीसँग शनिबार कुराकानी भएको थियो’, अहिरले भन्नुभयो, ‘उहाँले अहिले पदभार ग्रहण गर्नुस्, असन्तुष्टि सम्बोधन गर्दै जाउँला भनेपछि सहमत भएको हुँ ।’ उहाँ अशोक राई नेतृत्वकै जसपामा रहने गरी पुरानै जिम्मेवारीमा फर्कनु भएको बताइएको छ ।