जनता टाइम्स

२५ बैशाख २०८१, मंगलवार १२:५२

सभामुख र प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताबीच छलफल सुरु


काठमाडौं, २५ बैशाख । संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे र प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग छलफल सुरु भएको छ । शुक्रबारबाट बजेट अधिवेशन सञ्चालन हुने भएपछि घिमिरेले आज बिहान सिंहदरबारमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका शीर्ष नेता र प्रमुख सचेतकसँग छलफलमा जुट्नुभएको हो ।

बैठकमा घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता र सचेतकहरु सहभागी छन् ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेसले निरन्तर प्रश्न उठाएर संसद अवरोध गरेपछि सरकारले बजेट अधिवेशनका लागि तयारी भन्दै हिउँदे अधिवेशन अन्त्य गरेको थियो । यसअघि कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएको थियो ।