जनता टाइम्स

२७ बैशाख २०८१, बिहीबार ००:१२

कोशीका मुख्यमन्त्री केदार कार्कीको असंबैधानिक खेल सकियो, प्रदेश प्रमुखले गरे नयाँ सरकार गठनको आह्वान


विराटनगर, बैशाख २७ । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत नै सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

खापुङले सरकारको दाबी पेश गर्न दुई दिनको समय दिनुभएको छ । कोशीका मुख्यमन्त्री केदार कार्कीलाई वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्तावमार्फत प्रदेशसभाले समय सीमा दिएको थियो । संकल्प प्रस्तावको पक्षमा ५२ जना सांसद उभिएका थिए । तर, विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा मुख्यमन्त्री कार्की रहेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुख खापुङसमक्ष माग गरेको थियो ।

सरकार गठनको आव्हान भएलगत्तै एमाले र माओवादीले हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग लिएर बहुमत सदस्यको दाबी गर्ने तयारी गरेका छन् । आफूसहित ८ जना सांसद लिएर आएपछि कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसदले काँध थापेका थिए ।

कार्की सरकार पनि धारा १६८ को उपधारा ५ अन्तर्गन नै गठन भएको हो । यस धारा अनुसार मुख्यमन्त्री दाबी गर्न संसदीय दलको नेता चाहिँदैन । प्रदेशसभाका जोसुकै सदस्यले बहुमत जुटाएर सरकार गठनका लागि दाबी गर्न सक्छन् । मुख्यमन्त्री केदार कार्कीलाई पछि माओवादी र कांग्रेसले विश्वासको मत दिएको थियो ।

संसदको यो कार्यकालमा योसहित सरकार गठनको छैटौं पटक सरकार गठनको आव्हान भएको हो । यसअघि कोशीमा २ पटक हिक्मत कार्की, २ पटक उद्धव थापा मुख्यमन्त्री बनिसक्नु भएको छ । केदार कार्की असोज २७ मा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।