जनता टाइम्स

२७ बैशाख २०८१, बिहीबार ००:२७

राष्ट्रपतिका सल्लाहकार नै चुच्चे नक्साको बिरोधमा उत्रिएपछि


काठमाडौं, बैशाख २७ । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल नै चुच्चे नक्साको बिरोधमा उत्रिएपछि बर्खास्त गर्न माग गरिएको छ । नेपालले एक सयको नोटमा नेपालको चुच्चे नक्सा राख्ने निर्णयको विरोध गरेको भन्दै नागरिक अगुवाले बर्खास्तीको माग गरेका छन् ।

नेपालले सञ्चारमाध्यममा दिएको प्रतिक्रियालाई लिएर उनीहरूले पदबाट हटाउन माग गरेका हुन् । पूर्वमन्त्री एवं राजदूत नीलाम्बर आचार्य, अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त सुशील प्याकुरेल, लेखक तथा पत्रकार कनकमणि दीक्षितले संयुक्त विज्ञप्ति निकालेर नेपालको अभिव्यक्ति राष्ट्रपतिकै तर्फबाट आएको भनी आफूहरूले बुझेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

नेपालले ‘देश सञ्चार’ सँग भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय भएको बताएको साथै बीबीसी नेपाली सेवासँग राष्ट्र बैंकलाई संशोधित संविधानको नक्सा राख्न दिने निर्णयलाई ‘लहड’ को संज्ञा दिएको भन्दै विज्ञप्तिमार्फत् आलोचना गरिएको छ ।