जनता टाइम्स

२७ बैशाख २०८१, बिहीबार १५:२९

उपेन्द्र यादवको गलत कार्यशैलीका कारण नयाँ दल बनायौं : अशोक राई


काठमाडौं, २७ बैशाख । जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुनुहुँदैन भन्दै नयाँ दल बनाएको बताउनुभएको छ ।

अध्यक्ष राईले  आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष उपेन्द्र यादवको कार्यशैली ठिक नभएको बताउदै वैकल्पिक गठबन्धन बनाउन लागेको आरोप लगाउनु भएको छ । उहाँले आफुहरु अस्थिरताको कारक नबन्न यस्तो निर्णय लिएको बताउनुभयो । राईले नजिक र टाढा गरेर व्यवहार गर्ने गरेको आरोप लगाउँदै पारदर्शिता समेत नहुने गरेको बताउनुभयो ।

उहाँले यादवमाथि महाधिवेशन नै कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्न थालेको देखिएपछि आफुहरुले यस्तो कदम चालेको बताउनुभएको छ । अमेरिका जानुअघि उपेन्द्र यादवले पार्टीको विधान विपरित निर्वाचन समिति गठन गरेर परिपत्र गरेपछि पार्टीमा यस्तो अवस्था आएको उहाँले बताउनुभयो ।

जसपा नेपालका १२ सांसद मध्ये ७ सांसद लिएर राईको नेतृत्वमा जसपा गठन भएको छ । उपेन्द्र यादवले भने जसपाको दर्ता प्रक्रिया नै असंबैधानिक रहेको बताउदै अदालत जाने बताउनुभएको छ ।