जनता टाइम्स

२७ बैशाख २०८१, बिहीबार १९:३७

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त


काठमाडौं, २७ बैशाख । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । उहाँ आजै कोशीको नयाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री कार्कीसँगै नेकपा एमालेका राम बहादुर रानामगर र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेतीले बिनाविभागीय मन्त्रीको शपथ लिनुभएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएको कार्कीलाई एमालेका ३९ र माओवादीका १३ गरी ५२ जना सांसदको समर्थन रहेको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको थियो । यता निवर्तमान मुख्यमन्त्री कार्की भने नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालत पुग्नुभएको छ । नयाँ सरकार गठनको आह्वान खारेज गरेर मुख्यमन्त्रीमा आफैंलाई निरन्तरता दिन परमादेश माग गरेर कार्की आज सर्वोच्च पुग्नुभएको हो । उहाँले दायर गरेको रिटमाथि भोली प्रारम्भिक सुनुवाई हुनेछ ।