जनता टाइम्स

२८ बैशाख २०८१, शुक्रबार १२:३४

रबि लामिछानेको बिषयमा टसमस भएन कांग्रेस, सुनायो सहकारी ठगीमा छानबिन हुनैपर्ने बटमलाइन


काठमाडौं, बैशाख २८ । प्रमुख विपक्षी कांग्रेसले सहकारी अपचलनमा मुछिएका रास्वपाका सभापति, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको बटमलाइन भएको जनाएको छ।

आज बिहान बसेको संसदीय दलको बैठकले लामिछानेमाथि संसदीय छानबिन समिति गठनको आफ्नो माग पूरा नगरे संसद् बैठक चल्न नसक्ने बटमलाइन तय गरेको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो।

प्रमुख सचेतक लेखकले संसद् बैठक अवरोध हुँदा त्यसको जिम्मेवार सरकार हुने जनाएको छ। ‘रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिगठन कांग्रेसको बटमलाइन हो। सरकारले प्रतिपक्षको मागलाई बेवास्था गरेको छ, संसद् बैठक अवरोध हुँदा त्यसको जिम्मेवार सरकार स्वयम हुन्,’ उहाँले भन्नुभयो ।

कांग्रेसले सहकारी ठगीमा रबि लामिछाने संलगन रहेको प्रमाण आफूहरुसँग रहेको दावीसमेत गरेको छ । ‘सहकारीबाट नागरिकको बचत रकम फिर्ता गर्न र रकम हिनामिनामा गृहमन्त्रीको पनि संलग्नता देखिएकाले छानबिन निष्पक्ष होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति माग गरेका छौ,’ प्रमुख सचेतक लेखकले भन्नुभयो ।

उहाँले सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताउनु भयो। कांग्रेसले लामिछाने जोगाउनलाई राज्य संयन्त्रको दूरुपयोग भएको दाबी समेत गरेको छ।