जनता टाइम्स

२८ बैशाख २०८१, शुक्रबार १२:५६

एमाले रामेछापमा जुट्यो सहमति, अध्यक्ष पुरुषोत्तम कडरिया र सचिव प्रकाश कार्की सर्वसम्मत


रामेछाप, बैशाख २८ । नेकपा एमाले रामेछापको अध्यक्षमा पुरुषोत्तम कडरिया र सचिवमा प्रकाशकुमार कार्की सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

बिहीबार भएको मनोनयन दर्ता प्रक्रियामा कडरिया र कार्कीको नाममा सर्वसम्मती जुटेको हो । अध्यक्ष पदका लागि कडरियासँग प्रेमबहादुर तामाङले मनोनयन दर्ता गराउनु भएको थियो । उहाँले सहमतिको नेतृत्व चयनमा बाधक नबन्ने भन्दै नेताहरुको आग्रहमा मनोनयन फिर्ता लिनुभएको हो ।

त्यस्तै सचिवमा प्रकाशकुमार कार्कीसँगै रामबाबु घिमिरेले मनोनयन दर्ता गराउनु भएको थियो । घिमिरेले पनि सहमतिको लागि मनोनयन फिर्ता र्लिएपछि कार्की सर्वसम्मत हुनुभएको हो ।

यस्तै लेखा कमिटीको अध्यक्षमा रामप्रसाद देवकोटा सर्वसम्मत हुनुभएको छ । यस्तै उपाध्यक्षमा तेजबहादुर बोहरा र सचिवमा तिलक कार्कीसहित लेखा कमिटीका सदस्य पनि सबै सर्वसम्मत चयन हुनुभएको छ ।

अध्यक्ष, सचिव सर्वसम्मत भए पनि उपाध्यक्ष र उपसचिवका लागि भने प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्ष पदका लागि होतराज ढकाल, ध्रुवकुमार कार्की, रमेशकुमार वाग्ले र ज्ञानबहादुर खड्काको उम्मेदवारी परेको छ ।

त्यस्तै उपसचिवमा मिलनकुमार घिसिङ, दिनेश सुवेदी र राजेन्द्रकुमार कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ । महिला उपसचिवमा मखमली श्रेष्ठ, मञ्जु माया कार्की, कमला शर्मा क्षेत्रीको मनोनयन परेको नेकपा एमाले जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।