कपिलवस्तु, बैशाख २९ । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल निर्वाचित हुनुभएको छ । १०औं जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा खनाल निवर्तमान अध्यक्ष डम्बर शर्मालाई पराजीत गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
खनालले निवर्तमान डम्बर शर्मालाई पराजीत गरी नेतृत्व लिनुभएको हो । यस्तै निर्वाचनबाट उपाध्यक्षमा शंकर पाण्डे, सचिवमा सिबी गहतराज र उपसचिवद्वयमा देवीबहादुर पोखरेल र सुशीला दर्लामी निर्वाचित हुनुभएको छ । यस्तै उपसचिवमा खुलातर्फ देविबहादुर पोख्रेलले १४७ मत र महिलातर्फ शुसिला दर्लामिले ३३२ मत ल्याइ बिजयी हुनु भएको निर्वाचन अधिकृत हुननाथ पाण्डेले बताउनुभयो ।
प्रतिनिधिले खनाललाई जिताएपछि अधिकांश नेताहरुको साथ पाएर अध्यक्षको प्रत्यासी बन्नुभएका निवर्तमान अध्यक्ष शर्मालाई ठूलो झडका लागेको छ । अधिकांश नेताहरुको साथ पाएका निवर्तमान अध्यक्ष शर्मालाई एमाले कार्यकर्ताले भने पत्याएनन् ।
कार्यकर्ताले शर्मालाई मात्र होइन उहाँको पक्षबाट उठेका अधिकांश नेताहरुलाई हराइदिएका छन । शर्माको पक्षमा संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेका एमाले पोलिटब्यूरो सदस्य बलराम अधिकारी, पोलिटब्यूरो सदस्य तथा कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराई, राष्ट्रिय सभाका उपाध्यक्षसमेत रहनुभएकी नेतृ विमला घिमिरे, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपाने, लुम्बिनी प्रदेशका मन्त्री अर्जुन केसीसहित अधिकांश प्रभावशाली नेताहरुले समर्थन गर्नुभएको थियो ।
अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा माथिबाट आधिकारिक उम्मेदवार कोही नभएकाले कसैले त्यसरी प्रचार गरे प्रतिनिधिले हराएर पठाउनुपर्ने बताउनु भएको थियो । ठीक त्यसै गरेर प्रतिनिधिले मतदान गरेका छन् ।
शर्मा एमाले कपिलवस्तुको २०७८ पुसमा भएको ९ औँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँको कार्यकालमा स्थानीय तथा संघ र प्रदेशको चुनावमा पार्टीले यसअघिभन्दा राम्रो स्थान ल्याएको भन्दै नेताहरुले प्रशंसा गरेपनि पार्टी प्रतिनिधिले रुचाएनन् ।
नेतृत्वमा विजयी बाबुराम खनाल एमाले कपिलवस्तुका विभिन्न जनवर्गीय संगठन र पार्टीको लामो राजनीति गरेकाले बलियो दावेदार मानिएपनि धेरै नेताहरु उहाँको पक्षमा थिएनन । खनाल जिल्ला सदस्य, सचिव, उपाध्यक्ष हुँदै पार्टीको प्रदेश कमिटी सदस्य बनिसकेका अनुभवी नेता हुनुहुन्छ । जिल्लाको नवौं अधिवेशनमा अध्यक्षका लागि उम्मेदवार रहेका खनाल शर्मासँग पराजित हुनुभएको थियो ।
कपिलवस्तु जिल्लाको उत्तर–दक्षिणी क्षेत्रमा पार्टीको संगठन विस्तार र विभिन्न निकायसँगको समन्वयकारी भूमिका राख्न दख्खल रहेका खनालले अघिल्लो अधिवेशनमा पराजित भएपछि पनि निरन्तर पार्टी काममा लाग्नुभएको थियो । खनाललाई प्रदेश सांसद विष्णु पन्थी, पूर्वजिल्ला अध्यक्ष झविलाल पोख्रेललगायतले समर्थन गरेका थिए । त्यसैगरी उपाध्यक्षमा पराजित भेषराज पाण्डे मन्त्री बलराम अधिकारीका प्रमुख स्वकीय सचिव हुनुहुन्छ । उहाँ पनि डम्बरको लाइनबाट उम्मेदार बन्नुभएको थियो ।
सचिवमा विजयी सिबी गहतराज पनि बाबुराम समूहमै हुनुहुन्छ । गहतराजले शर्मा समूहका विश्व कार्कीलाई फराकिलो मतले जित्नुभएको हो । त्यसैगरी उपसचिवमा विजयी देवी पोखरेल र शुशीला दर्लामी पनि खनाल समूहकै हुनुहुन्छ । एमालेका जिल्ला अधिवेशनमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेल समूह बनेर प्रतिस्पर्धा गरेको विषय बाहिर आएपनि कपिलवस्तुले त्यसलाई उल्टाइदिएको छ ।
कस्को कत मत ?
अध्यक्ष
बाबुराम खनाल (२७८) विजयी
डम्बर शर्मा (२५३)
उपाध्यक्ष
उपाध्यक्षः शंकर पाण्डे (३१२)
भेषराज पाण्डे (२०१)
सचिव
सिवि गहराज (३०४)
विश्व कार्की (२१२)
प्रतिक्रिया दिनुहोस्