जनता टाइम्स

३० बैशाख २०८१, आईतवार १८:३५

मधेश प्रदेशमा उपेन्द्र यादवको भाँचियो दाहिने हात, एमाले नेतृत्वको सरकार बनाउन माओवादीसँगै जनमत र लोसपाको साथ


जनकपुरधाम, ३० बैशाख । मधेश प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त सरकार बनाउने भएको छ ।

मधेश प्रदेशमा १०७ सांसद छन्, जसमध्ये लोसपा संसदीय दलका नेता अभिराम शर्मा निलम्बित छन् । शर्माबाहेक लोसपाका ८, एमालेका २५, माओवादीका ९ र जनमतका १३ जोड्दा ५५ पुग्छ । तर सरकार बनाउन मात्र ५४ सांसद आवश्यक पर्छ ।

मधेशमा अहिले जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री हुनुहुन्छ । आज माओवादी र एमाले सरकारबाट समर्थन फिर्ता लिएसँगै उहाँ अल्पमतमा परिसक्नुभएको छ । सरकारबाट कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

मुख्यमन्त्रीले अब विश्वासको मत लिनुपर्ने हुन्छ, तर त्यसअघि बहुमत पुर्याएर प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्दा नयाँ सरकार बन्छ कि बन्दैन भन्ने विषयमा छलफल चलिरहेको छ । बहुमत पुर्याएर तत्कालै नयाँ सरकार बनाउने व्यवस्था हुँदा आजै दाबी पेश गरिने बताइएको छ ।