जनता टाइम्स

३१ बैशाख २०८१, सोमबार ११:४९

सरकारबाट बाहिरिए उपप्रधानमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री दीपक कार्की


काठमाडौं, ३१ बैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहनुभएको यादवले आज बिहान राजीनामा दिनुभएको हो । राजीनामामा उहाँले भन्नुभएको छ,‘करिब दुई महिनादेखि म उपप्रधान मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु ।’

यादवसँगै वन राज्यमन्त्री दीपक कार्कीले पनि पदबाट राजीनामा दिनुभएको छ । जसपा नेपालको नेतृत्वमा रहेको मधेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएसँगै उपेन्द्र यादवले केन्द्रमा सरकार छोड्नुभएको हो । यसअघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले पनि उनलाई सरकार छोड्न निर्देशन दिनुभएको थियो । जसपा नेपालको बिभाजनपछि उपेन्द्र यादवले केन्द्रसहित मधेशको सरकारसमेत गुमाउनुभएको छ ।