काठमाडौं, १ जेठ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमलाई अवरोध नगर्ने निर्णय गरको छ । आज सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभएको हो । नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आफ्ना माग पूरा नभएसम्म अवरोध कायमै राख्ने निर्णय गरेको लेखकले बताउनुभयो ।
लेखकले सरकार सहकारी पिडितप्रति सम्बेदनशील हुन नसकेको आरोप लगाउँदै सरकारलाई तत्काल संसदीय समिति बनाउन माग गरेको बताउनुभयो । कांग्रेसले संसदको अन्य कार्यसूचीमा प्रवेश हुन नदिने निर्णय गरेको छ । सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै यसले संसदका बैठक प्रभावित भएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने उहाँले बताउनुभयो ।
आजको बैठकमा कांग्रेसले गिरिबन्धु टि–स्टेटको जग्गा प्रकरणमा सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै यस विषयमा संसदीय दलमा प्रवेश गरेको र अर्को बैठकमा यस बारेमा कांग्रेसले आफ्नो धारणा बनाउने लेखकले बताउनुभयो । कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ । यसअघि मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरूसँग राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम अवरोध नगर्न आग्रह गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्