जनता टाइम्स

१ जेष्ठ २०८१, मंगलवार १६:१८

सरकारको नीति तथा कार्यक्रमबाट ‘जनयुद्ध’ शब्दको सट्टामा ‘सशस्त्र संघर्ष’ उल्लेख


काठमाडौं, १ जेठ । सरकारको नीति तथा कार्यक्रमबाट नेकपा (माओवादी केन्द्र)ले भन्दै आएको ‘जनुयुद्ध’ शब्द हटेको छ । ‘जनयुद्ध’ शब्दको स्थानमा ‘सशस्त्र संघर्ष’ शब्द राखिएको छ ।

२०७९ मंसिरमा निर्वाचन भएपछि सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दै आउनुभएको छ । यसबीचमा गठबन्धनका दलहरू फेरिए पनि सरकारको नेतृत्व गर्ने व्यक्ति भने फेरिनु भएको छैन ।

नेपालको तेस्रोपटक प्रधानमन्त्री बनेपछि प्रचण्डको नेतृत्वमा आज दोस्रोपटक सरकारको नीति तथा कार्यक्रम आएको हो । सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्ततु गर्नु भएको छ ।

‘यस अवसरमा सर्वप्रथम नेपाल राष्ट्रको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवं मुलुकको सर्वाङ्गीण विकास र समृद्धि, अग्रगमनको लागि विभिन्न समयमा भएका राजनीतिक क्रान्ति, सशस्त्र संघर्ष एवं आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ आगामी आर्थिक वर्ष २०८१र८२ को लागि मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो ।

अघिल्लो वर्ष चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पनि राष्ट्रपति पौडेलले प्रस्तुत गर्नुभएको थियो । त्यतिबेला पनि प्रधानमन्त्री प्रचण्ड नै हुनुहुन्थ्यो । तर अघिल्लो वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सत्तारूढ गठबन्धनमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरू थिए ।