काठमाडौं, ३ जेठ । अहिलेको गठबन्धनमा बसेर यसकै जरो काट्न खोज्दा माधव नेपाल र उपेन्द्र यादव नमज्जाले उल्टो फस्नु भएको छ । एमाले माओवादी गठबन्धनमा रहेर यसकै जरो काट्न उधत् हुँदा जसपा नेपाल त विभाजननै भएको छ भने माधव नेपालको निद् हराम भएको छ ।
गठबन्धनमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै यी दुई नेताले कांग्रेससंग सहकार्य गरेर यो गठबन्धन भत्काउने षडयन्त्र गर्नुभएको थियो । यसको पोल समयमै खुलेकाले षडयन्त्र त तुहियो नै जसपा विभाजन भएर आफ्नै पार्टीमा स्वयं उपेन्द्र यादव अल्पमतमा परेका छन् । यसको बाँछिटाले माधव नेपाललाई पनि रुझाई रहेको बुझ्न गाह्रो छैन । नेता नेपाल अहिले आफ्नो १० सिटे पार्टी पनि टुक्रिने हो की भन्ने त्रासमा हुनुहुन्छ । स्वयं उहाँ नै फुटेर जाने सांसद संख्या ६ जना रहेको बताइरहनु भएको छ । मिडियाले त फुट्ने हल्ला मात्र चलाएका हुन् संख्या त उहाँहरू आफैले तोक्नु भएको हो ।
जसपा नेपाल विभाजन अहिले सर्वोच्चको विचाराधिन विषय बनेको छ । तर माधव नेपाललाई यो त्रासले झन् पीरोलेको छ । जसपा विभाजनमा सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेर यथास्थानमा रहन भनेको छ । यसमै अड्केको माधव नेपालको सास । किनभने एमाले विभाजनको मुद्दा पनि अहिलेसम्म अदालतमा विचाराधिन छ । अब जसपा विभाजनलाई अदालतले मान्यता दिए अशोक राईको पार्टीले वैधानिक पाएसंगै नेकपा (एस) मा फुट्न चाहनेलाई बल प्राप्त हुन्छ ।
यदी जसपा नेपालको विभाजनलाई अवैधानिक ठहर्याए, उपेन्द्र त केही समय खुसी होलान तर, माधव नेपाललाई झन् ठूलो झट्का लाग्ने निश्चित हुन्छ । किनभने हालसम्म विचाराधिन रहेको एमाले विभाजनको मुद्दामा प्रश्न खडा हुन्छ र अदालतले यसलाईसंगै राखेर एमाले विभाजनलाई अवैध मान्नु पर्ने हुन्छ । यसो हुँदा माधव नेपाल झन घरको न घाटको हुनुहुनेछ ।
यही कुरा बुझ्नु भएका माधव नेपाल अनेकथरी बर्बराउन थाल्नु भएको छ । उहाँले जति बेला जे पनि हुन सक्ने, गठबन्धन जे पनि हुनसक्ने बताइरहनु भएको छ । एक राजनीतिक विश्लेषक भन्छन्, ‘माधव नेपालको कांग्रेससंग मिलेर प्रधानमन्त्री पड्काउने कुरा असम्भव छ । उहाँलाई पार्टी जोगाउन र सुरक्षित गर्न यही गठबन्धनमा लतारीएर, घिस्रेर पनि बस्नु पर्ने वाध्यता छ ।’
संसदका अंक गणितको कुरा हुन्छ । सांसद संख्याको कुरा हुन्छ भन्ने विर्सिएर उहिले एमालेको महासचिव छदाँजस्तो षडयन्त्र गर्न खोज्दाको परिणाम अहिले उहाँले भोगिरहनु भएको छ । त्यसैले भन्नुहुन्छ ‘मलाई वास्तै गरेनन्, नीति तथा कार्यक्रम, बजेट, सरकार ढाल्ने र गिराउने कुरामा, हामी पनि यही गठबन्धनका हौ त ?’ समयमा बुद्धि नपुर्याएर पछि पुर्पुरोमा हात राखेर हुदैन त ! कांग्रेससंग मिसिएर चुनाव लड्दा पनि १० सिटभन्दा बढ्न सकेन भने लज्जा त राष्ट्रिय पार्टी हुन नसकेकोमा भयो । त्यो १० सिटको टालो पनि इलामको निर्वाचनले त थुतिदिएर ह्वाङ्गै पारिदिएको छ । तर, पनि उहाँ भन्न छाडेनु हुन्न ‘मेरो अपमान भयो !’
प्रतिक्रिया दिनुहोस्