काठमाडौं, १६ जेठ । बृहद् यौनिकता शिक्षामा अपाङ्गता भएका बालबालिकाको पहुँच विषयमा मंगलबार काठमाडौंका एक छलफल कार्यक्रम सम्पन्न भएको छ । यौन तथा प्रजनन स्वास्थ्यजस्तो विषयमा अपाङ्गता भएका बालबालिकाले जानकारी राख्छन् वा राख्दैनन्, उनीहरूसम्म सही सूचना पुगिराखेको छ वा छैन पुग्न नसक्नुका अवरोधहरू के हुन् ? र उनीहरूको यौन तथा प्रजनन स्वास्थ्यका विषयमा सही सूचना प्राप्त गर्ने अधिकारलाई कसरी सुनिश्चितता गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफलको आयोजना गरिएको हो ।
बृहद यौनिकता शिक्षावारे पर्याप्त एवं खुला बहस अपाङ्गता इतर समुदायमा पनि हुन नसकिरहेको अवस्थामा अपाङ्गगता भएका बालबालिकामा यो विषय बहसको खाँचो झनै टड्कारो रहेको कार्यक्रममा बताइएको थियो ।
बृहद् यौनिकता शिक्षा अपाङ्गता भएका बालबालिकामा किन आवश्यक छ ? यसले उनीहरूलाई कुन-कुन विषयमा सशक्त गराउँछ भन्ने विषय महत्वपूर्ण भएको बताउँदै यो बहसलाई केन्द्रमा मात्र सीमित नराखेर दूर–दराजसम्म विस्तार गर्नु पर्ने आवश्यकतासमेत कार्यक्रममा औल्याइएको थियो ।
अपाङ्गताको विविधताका आधारमा सामाग्रिहरू उत्पादन ती सामाग्री लक्षित समूहसम्म पुर्याउने विधि एवं सरोकारवालाको भूमिकाका विषयमासमेत कार्यक्रममा छलफल गरिएको थियो ।
विशेषतः काठमाडौं उपत्यकामा अध्यययन गरिरहेका बालबालिका, अभिभावक, प्रधानाध्यापक, शिक्षक, अपाङ्गता भएका बालबालिकालाई राखिरहेका दिवा स्याहार सेवा केन्द्र, स्थानीय सरकारका सामाजिक तथा शिक्षा सेवाका प्रतिनिधि एवं अपाङ्गता भएका बालबालिकाका यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा काम गरिरहेका संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
कार्यक्रममा बृहद् यौनिकता शिक्षाको सफल कार्यान्वयनको अवधारणाका लागि अपाङ्गता भएका बालबालिका, अभिभावक, विद्यालय, शिक्षक र सरोकारवाला सबै निकायको संयुक्त पहलकदमी आवश्यक रहेको निश्कर्ष निकालिएको थियो ।
प्रथम आवश्यकता सचेतना तथा अभिमुखिकरण नै हो, बालबालिका, अभिभावक तथा बालबालिकाको अपाङ्गताको प्रकृतिअनुसार उनीहरूलाई बुझाउने सामाग्रिको उत्पादन गर्दै बालबालिका, शिक्षक र अभिभावकलाई अभिमुखिकरण गर्न आवश्यक रहेको कार्यक्रममा नेत्रहीन युवा संघका संस्थापक अध्यक्ष एवं सल्लाहकार कलाधर भण्डारीले बताउनुभयो ।
बृहद् यौनिकता शिक्षामा अपाङ्गता भएका बालबालिका तथा किशोर किशोरीहरूको पहुँच अत्यन्तै कमजोर रहेको निश्कर्षकासाथ पहुँच बृद्धीका लागि सरोकारवालाहरूको सहकार्य तथा समन्वयको खाँचो रहेकोसमेत भण्डारीले बताउनुभयो । अन्तक्रियामा सहभागिहरूले अपाङ्गता भएका नागरिकहरूको पहुँच विस्तारको बहसमा बृहद् यौनिकता शिक्षाजस्ता विषयको बहसलाई अझ विस्तार गर्नु पर्ने बताएका थिए ।
अपाङ्गता भएका बालबालिका तथा किशोर किशोरीहरूका आफ्नो शरीरप्रतिको अधिकार तथा शारीरिक संरचना, सम्वन्ध, शारीरिकरूपमा विकास हुने परिवर्तन, व्यवहार एवं लैंगिकताप्रतिको बुझाईको अधिकारबाट उनीहरू वञ्चितिकरणमा पर्दै गएको उल्लेख गरिएको थियो । पर्याप्त अध्ययन तथा अनसन्धान हुन नसक्दा यो क्षेत्रमा खास काम हुन नसकेको बताईएको थियो ।
अपाङ्गता भएका नागरिकले संविधान प्रदत्त मौलिक अधिकार उपभोगका क्रममा सामना गर्नु परेको जटिलता एवं चुनौतिका सन्दर्भमा बहस भइरहेकै बेला अपाङ्गता भएका बालबालिका तथा किशोर किशोरीहरूको बृहद् यौनिकता शिक्षामा पहुँचको विषयलाई पनि बहसको मुल प्रवाहमा ल्याउनु पर्ने तर्क सहभागिहरूको थियो ।
पर्याप्त सूचनाको अभाव एवं भएका सूचनाको प्रवाह अपाङ्गता मैत्री दृष्टिकोणबाट हुन नसक्नुलगायतका कारण अपाङ्गता भएका बालबालिका तथा किशोर किशोरीहरू प्रजनन् तथा यौन स्वास्थ्यका विविध पक्षको जानकारीबाट बञ्चित हुनु परेको उल्लेख गरिएको थियो ।
बहिरा नागरिकका लागि सीमित सांकेतिक शब्द छन् त्यसमा पनि यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धि त अत्यन्त न्यून शब्दको मात्र विकास हुन सकेको नेत्रहीन युवा संघका कार्यक्रम संयोजक निर श्रेष्ठले बताउनुभयो । उहॅाले भन्नुभयो, ‘बौद्धिक अपाङ्गता तथा अति अशक्त अपाङ्ग भएका किशोर किशोरीले बुझ्ने ढाँचाका सामाग्रि त झनै छैनन् भन्दा पनि हुन्छ ।’
अपाङ्गताका विविधता तथा प्रकृतिअनुसारको पहुँचयुक्त सन्दर्भ सामाग्रीको निर्माण हुनु पर्ने, लक्षित समूहसम्म पुर्याउनका लागि उपयुक्त प्रविधि र दक्ष जनशक्तिको विकास गरिनु पर्ने, अपाङ्गता मैत्री शिक्षा प्रणलीको विकासलगायतका विषयहरूको बारेमा कार्यक्रममा छलफल भएका थिए ।
कार्यक्रममा उपस्थित स्थानीय सरकारका सामाजिक तथा शिक्षा सेवाका प्रतिनिधिले कार्यक्रममा उठान भएका विषय अत्यन्त मनन योग्य रहेको भन्दै अबको शिक्षा नीतिमा यस विषयमा ध्यान पुर्याउने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्