जनता टाइम्स

४ असार २०८१, मंगलवार १५:२८

राजेन्द्र लिङ्देनले संसद्को रोष्ट्रममै च्याते बजेट पुस्तिका


काठमाडौं, असार ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदको रोष्टमबाटै बजेटको पुस्तिका च्यात्नुभएको छ ।

अध्यक्ष लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन पुस्तिका प्रतिनिधिसभाको रोष्ट्रममै च्यात्नुभएको हो । उहाँले मन्त्रालयगत बजेट विनियोजनमा अन्याय गरेको भन्दै पुस्तिका च्यात्नुभयो । प्रतिनिधिसभाको मंगलबारको बैठकमा भौतिक पूर्वाधार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राख्दै लिङ्देनले पुस्तिका च्यात्नुभएको छ ।

’जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यो पुस्तिका हातमा पर्यो, त्यो दिनदेखि म यसरी तात्तिएको छु कि यो यसरी च्यातेर (विनियोजन पुस्तिका च्यात्दै) हुर्याउने मन छ तर, यो संसदीय मर्यादाविपरीत हुन्छ भनेर जहाँ हुर्याउनुपर्ने त्यहाँचाँहि मैले नहुर्याएर यहाँ राख्छु (च्यातेको पुस्तिका रोष्ट्रममै छोडे),’ लिङ्देनले भन्नुभयो ।

उहाँले थप्नुभयो, ’यो मेरो मात्रै मनको कुरा होइन । अहिले त्यस्तो कुनै नाप्ने चिज रहेछ भने यो हलभित्र बसेका जुनसुकै पार्टीको भएपनि चारवटा निर्वाचन क्षेत्र बाहेकको सबैं प्रतिनिधिसभा सदस्यहरूको मनको कुरा हो यो ।’

बजेट विनियोजन गर्दा मनपरी गरिएको भन्दै लिङ्देनले आपत्ति जनाउनु भयो । ’यसरी सामान्य लाजघिन पनि नराखेर राज्यस्रोतमाथि यसप्रकारको मनपरी कतिदिनसम्म माननीय सदस्यहरूले सहेर बस्ने हो ? सामान्य लाज पनि नराख्ने ?,’ उहाँले भन्नुभयो, ’यो देख्छन् । पढिने, देखिने चिज हो भन्ने कुरा पनि ख्याल नराख्ने ?’

अध्यक्ष लिङ्देनले बजेट पुस्तिकामा जिल्लाको नाम पनि नराखेर योजना राखिएको लिङ्देनको भनाइ थियो । उहाँले समानुपातिक बजेट विनियोजन नभएको बताउनु भयो ।